जेठमा महँगी बढ्यो, औसत मुद्रास्फीति भने घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनाको (जेठ मसान्तसम्म) वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत पुगेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा मुद्रास्फीति २.७७ प्रतिशत रहेको थियो। महँगीको दर बढे पनि राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत तय गरेको ५.५ प्रतिशतको लक्ष्यभित्र नै कायम रहेको छ।
प्रतिवेदनअनुसार समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.६३ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः १.५२ प्रतिशत र ३.४५ प्रतिशत थियो।
फलफूल र घिउ–तेलको मूल्यमा उच्च वृद्धि
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूल उपसमूहको मूल्य १८.६० प्रतिशत ले बढेको छ, जुन सबैभन्दा उच्च वृद्धि हो। त्यसपछि घिउ तथा तेलको मूल्य १३.९९ प्रतिशत, तरकारीको मूल्य ५.४० प्रतिशत र मासु तथा माछाको मूल्य ४.१६ प्रतिशत ले बढेको छ।
यता, दाल तथा गेडागुडीको मूल्य १.६७ प्रतिशत र मरमसलाको मूल्य ०.६५ प्रतिशत ले घटेकाले उपभोक्ताले केही राहत पाएका छन्।
गैर-खाद्यतर्फ यातायात र विविध वस्तु महँगिए
गैर-खाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवाको मूल्य १९.९० प्रतिशत ले बढेको छ। त्यस्तै यातायात उपसमूहको मूल्य १५.३० प्रतिशत ले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।
यसबाहेक शिक्षा क्षेत्रको महँगी ५.५४ प्रतिशत तथा कपडा तथा जुत्ताचप्पलको मूल्य ४.७३ प्रतिशत ले बढेको छ।
सहरी क्षेत्रमा बढी महँगी, कोशी प्रदेश शीर्षमा
भौगोलिक रूपमा सहरी क्षेत्रमा मुद्रास्फीति ५.२९ प्रतिशत रहेको छ भने ग्रामीण क्षेत्रमा ४.३५ प्रतिशत कायम भएको छ।
क्षेत्रगत रूपमा:
तराई : ५.५९ प्रतिशत
काठमाडौं उपत्यका : ४.९० प्रतिशत
पहाड : ४.७३ प्रतिशत
हिमाल : ३.७३ प्रतिशत
प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा सबैभन्दा बढी ५.६४ प्रतिशत मुद्रास्फीति रहेको छ। त्यसपछि मधेशमा ५.४७ प्रतिशत, लुम्बिनीमा ५.३१ प्रतिशत, कर्णालीमा ४.८८ प्रतिशत, गण्डकीमा ४.८६ प्रतिशत, सुदूरपश्चिममा ४.६५ प्रतिशत र बागमतीमा ४.५५ प्रतिशत मुद्रास्फीति रहेको छ।
औसत मुद्रास्फीति भने घट्यो
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको औसत उपभोक्ता मुद्रास्फीति २.६६ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा औसत मुद्रास्फीति ४.३९ प्रतिशत थियो।