६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिनसहित ६ जना पक्राउ
काठमाडौँ । प्रहरीले रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ नेपालगञ्ज रोडस्थित एक पसलबाट नक्कली नेपाली नोट तथा नोट उत्पादनमा प्रयोग हुने सामग्रीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा रुपन्देही बुटवल-११ की ३६ वर्षीया गंगा कुमारी पूर्वछाने, कास्की पोखरा महानगरपालिका-१ का किरण कृष्ण तिवारी (कृष्ण), कपिलवस्तु बाणगंगा नगरपालिका-१ का संजय थारु, भक्तपुर चाँगुनारायण नगरपालिका-१ का ४१ वर्षीय रामचन्द्र खत्री, दोलखा शैलुङ गाउँपालिका-४ का ३८ वर्षीय पासाङ तामाङ तथा भारत पश्चिम बंगालको सिलिगुडी भक्तिनगर थाना घर भएका ४९ वर्षीय वासुमित्र आनन्द रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको घर तथा कोठामा गरिएको खानतलासीका क्रममा रु. १ हजार दरका ६२२ थान नक्कली नेपाली नोट बरामद भएको छ। बरामद नोटको कुल मूल्य ६ लाख २२ हजार रुपैयाँ रहेको जनाइएको छ ।
त्यस्तै, प्रहरीले नक्कली नोट छाप्न प्रयोग भएको आशंकामा फोटोकपी मेसिन, डेल कम्पनीको ल्यापटप, प्रिन्टर, कागजको कार्टुन, लेमिनेसन मेसिन, विभिन्न रसायन, प्लास्टिक पेपर, नोट काट्ने मेसिन तथा ६ थान मोबाइल फोनसमेत बरामद गरेको छ । पक्राउ परेकाहरूमाथि मुद्रा सम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।