सांसदलाई फसाउन खोजेका रितेश शर्मा फरार
कपिलवस्तुको कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा कोहिनूर मार्बलका सञ्चालक रितेश शर्मा आफूविरुद्ध अपराधिक उपद्र मुद्दामा पक्राउ पुर्जी जारीपछि फरार भएका छन्। यसअघि उनले क्षेत्र नम्बर ३ का सांसद अभिषेक प्रताप शाह र कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहविरुद्ध ज्यान मार्ने उद्योगको जाहेरी दिएका थिए।
कपिलवस्तु प्रहरीले शर्मासहित सात जनाविरुद्ध अपराधिक उपद्रो मुद्दा दर्ता गरी जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको जनाएको छ। प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्र सिंहका अनुसार आरोपितहरूको खोजी भइरहेको छ।
कृष्णनगरस्थित शाह कम्प्लेक्समा रहेको एक व्यावसायिक कार्यालयमा तोडफोड तथा तालाबन्दी गरेको आरोपमा कम्प्लेक्सका सञ्चालक वैभव प्रताप शाहले शर्मासहितको समूहविरुद्ध जाहेरी दिएका थिए। सोही घटनापछि उत्पन्न विवाद मिलाउन सांसद शाह र मेयर शाह शर्माको घर पुगेको बताइन्छ । त्यसलगत्तै शर्माले दुवै जनाविरुद्ध ज्यान मार्ने उद्योगको जाहेरी दिएका थिए।
दुवै पक्षले एकअर्काविरुद्ध उजुरी दिएपछि प्रहरीले दुवै मुद्दा दर्ता गरेको हो। उक्त घटनाले स्थानीयस्तरमा राजनीतिक आकार लिन खोजेको छ ।
क्यासिनो विवादबाट सुरु भएको तनाव
स्थानीय स्रोतका अनुसार करिब एक महिनाअघि रितेश शर्मासहित केही व्यक्ति चन्द्रौटास्थित लुम्बिनी ग्रीन रिसोर्टको क्यासिनोमा प्रवेश गर्न खोज्दा विवाद भएको थियो। नेपाली नागरिकलाई प्रवेश नदिने व्यवस्थापनको अडानपछि उत्पन्न असन्तुष्टिकै क्रममा असार २८ गते कृष्णनगरस्थित शाह कम्प्लेक्समा रहेको क्यासिनोको सम्पर्क कार्यालयमा पुगेर कर्मचारीलाई बाहिर निकाल्दै तालाबन्दी गरिएको आरोप छ।
त्यसपछि केही युवा शर्माको घर पुगे । स्थानीयका अनुसार विवाद बढ्न नदिन छिमेकीसमेत रहेका सांसद अभिषेक र मेयर रजत सम्झाउन त्यहाँ पुगेका थिए। तर घटनाक्रम थप विवादमा परिणत भएको बताइएको छ।
मानसिक स्वास्थ्यको विषय पनि चर्चामा
रितेश शर्मा यसअघि विद्युतीय कारोबार ऐनअन्तर्गतको एक मुद्दामा पक्राउ परेका थिए। त्यसबेला उनका परिवारले शर्मा विगत पाँच वर्षदेखि मानसिक स्वास्थ्यसम्बन्धी उपचारमा रहेको भन्दै चिकित्सकीय कागजात पेश गरेका थिए। त्यसकै आधारमा सरकारी वकिलको सहमतिमा प्रहरीले उनलाई हिरासतबाट रिहा गरेको थियो।
पछि जिल्ला अदालतमा दिएको बयानमा पनि आफू नियमित औषधि सेवन गरिरहेको उल्लेख गरे । अदालतले साइबर अपराधसम्बन्धी मुद्दामा उनलाई ८५ हजार रुपैयाँ धरौटीमा रिहाको आदेश दियो ।
उक्त पृष्ठभूमिमा अहिले दर्ता भएको ज्यान मार्ने उद्योगको मुद्दालाई लिएर स्थानीयस्तरमा विभिन्न प्रश्न उठेका छन्। केही स्थानीयले पर्याप्त अनुसन्धानबिना दबाबमा मुद्दा दर्ता गरिएको आरोप लगाएका छन् । प्रहरीले औपचारिक रुपमा केही बताएको छैन ।
यसबीच सांसद अभिषेक र मेयर रजतलाई फसाउने प्रयास भएको जनाउँदै कृष्णनगर र बहादुरगञ्ज क्षेत्रमा स्थानीयले यातायात र बजार बन्द गराएका छन्।
सभार: जन आस्था