Connect with us
Kapilvast Forest

विजयनगरमा सेवाग्राहीलाई सास्ती, कर्मचारीलाई नाचगानको मस्ती !

२०८३, २३ आश्विन शुक्रबारमा प्रकाशित

न्युजसेन्टर नेपाल-
कपिलवस्तुको विजयनगर गाउँपालिकाका कर्मचारी कार्यालयको नियमित काम छाडेर नाचगानको अभ्यासमा व्यस्त हुने गरेको पाइएको छ । कर्मचारीहरू सेवाग्राहीलाई सेवा दिनुपर्ने समयमा कार्यालय छाडेर खडैचा स्थित सभाहलमा नाचगान सिक्न गएपछि गाउँपालिकाको सेवा प्रवाह प्रभावित भएको हो ।

राज्यले नागरिकलाई सहज र प्रभावकारी सेवा प्रदान गर्न कर्मचारी खटाए पनि विजयनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले कर्मचारीको पदीय मर्यादा र जिम्मेवारीलाई बेवास्ता गर्दै स्वागत तथा विदाइ कार्यक्रमका लागि कर्मचारीलाई नाचगान सिक्न खटाएको आरोप लागेको छ ।

केही दिनयता कर्मचारीहरू दैनिकजसो खडैचा स्थित सभाहलमा नाचगानको अभ्यासमा सहभागी हुँदै आएका थिए । कार्यालयको नियमित काम छाडेर कर्मचारी नाचगान सिक्न गएपछि विभिन्न काम लिएर गाउँपालिकाको कार्यालय पुगेका सेवाग्राही निराश भएर फर्किन बाध्य भएको बताइएको छ ।

शुक्रबार कर्मचारीहरू खडैचास्थित सभाहलमा नाचगानको अभ्यास गरिरहेका बेला कार्यालयमा सेवा लिन पुगेका करिब एक दर्जन सेवाग्राही सेवा नपाएर फर्किएको बताइएको छ ।

नागरिकलाई समयमै सेवा उपलब्ध गराउनुपर्ने कर्मचारी नै कार्यालयबाहिर नाचगानमा व्यस्त भएपछि गाउँपालिकाको सेवा प्रवाह र कर्मचारीको जिम्मेवारीमाथि प्रश्न उठेको छ ।

गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख रेनु पाण्डे र प्रशासन शाखाका तुल्सी गौतम सरुवा भएर अन्यत्र जाने तथा कृषि शाखामा आएका बालकृष्ण बरईलाई स्वागत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

तर, चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा शीर्षक नै नभएको कार्यक्रम कसरी सञ्चालन गरिएको हो भन्ने प्रश्नमा प्रमुख प्रशासकीय अधिकृत विश्वकर्माले स्पष्ट जवाफ नदिएको बताइएको छ ।

पालिकाले बडा दशैं, शुभ दिपावली छठ पर्वको शुभकामना आदानप्रदान तथा भेटौला कार्यक्रम आयोजना गरेको थियो ।

नागरिकको करबाट तलब तथा सुविधा लिने कर्मचारीले कार्यालयको नियमित कामलाई प्राथमिकता दिनुपर्नेमा औपचारिक कार्यक्रमको तयारीका नाममा सेवाग्राहीलाई मर्कामा पार्नु उचित नभएको स्थानीयको भनाइ छ ।

कर्मचारीको स्वागत तथा विदाइ कार्यक्रम आवश्यक भए पनि त्यसका कारण नियमित सेवा प्रवाह अवरुद्ध हुन नहुने सरोकारवालाहरूको धारणा छ ।

यस विषयमा गाउँपालिकाको आधिकारिक धारणा तथा कर्मचारीलाई नाचगानको अभ्यासमा खटाउनुको कारणबारे प्रमुख प्रशासकीय अधिकृत विश्वकर्माको स्पष्ट प्रतिक्रिया प्राप्त हुन सकेको छैन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu