भेरी अस्पतालमा बीस हजार लिटर क्षमताको अक्सिजन ट्यांक निर्माण
नेपालगञ्ज-जटिल किसिमका सङ्क्रमितको चाप बढेपछि भेरी अस्पताल नेपालगञ्जले अक्सिजनको अभावलाई पूर्ती गर्ने उद्देश्यले अस्पताल कम्पाउण्डभित्रै बीस हजार लिटर क्षमताको लिक्युड अक्सिजन ट्यांक जडान गरेको छ ।
तीव्र रुपमा बढेको कोरोना महामारीका कारण अधिकांश सङ्क्रमितलाई अक्सिजन अभावको अवस्था आएपछि यो समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्न अक्सिजन ट्यांक जडान गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताउनुभयो ।
उहाँले अस्पतालमा अक्सिजन आवश्यक पर्ने विरामीहरु ठुलो सङ्ख्यामा थपिने क्रम बढेपछि अस्पताल प्रशासनले दीर्घकालिन समाधानका लागि बीस हजार लिटर क्षमताको अक्सिजन ट्यांक जडान गरेको बताउनुभयो ।
अस्पतालको आफ्नै अक्सिजन प्लान्ट नरहेकोले अक्सिजन ट्यांक निर्माणपछि त्यहाँ बीस हजार लिटर अक्सिजन भण्डार गरिने अध्यक्ष धितालले बताउनुभयो ।अस्पताल भित्रै बीस हजार लिटर अक्सिजन भण्डारण गर्न सक्ने ट्यांक जडान भएकोमा खुशी व्यक्त गर्दै अब आवश्यक परेको बेला विरामीलाई निकै सहज हुने भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताउनुभयो ।
उहाँले पछिल्लो समयमा आएर धेरै सङ्क्रमितहरुलाई अक्सिजनको आवश्यकता परेपछि अक्सिजनको ठुलो समस्या हुँदै आएको बताउनुभयो ।अहिले भारतबाट अक्सिजनको आयात रोकिएकोले सरकारले सो आयात जारी राख्न पहल र प्रयास गर्नुपर्ने बताउँदै भेरी अस्पतालले भारतबाट अक्सिजन आएमा सहज हुने जनाएको छ ।