हामी भेदभावमा छौं ,हामी विश्वासको मतको पक्ष र विपक्ष कतै लाग्दैनौ:महन्थ ठाकुर
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले विश्वासको मतको पक्ष र विपक्ष कतैपनि नलाग्ने बताउनुभएको छ । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ठाकुरले आफ्नो माग पूरा नभएकाले तटस्थ बस्ने निर्णय लिने बताउनुभयो ।
‘प्रस्तावको पक्षमा पनि छैन र विपक्षमा पनि छैन । किनभने हामी राजनीतिक रुपमा पीडित छौं । हाम्रो सांसद जेलमा छन् । रेशम चौधरीलाई यहाँ देख्न चाहन्छौं । तर उहाँ जेलमा हुनुहुन्छ’, ठाकुरले भन्नुभयो ।
अहिलेको संविधानकै कारण आफ्ना नेताहरु जेल र तारेखमा बस्ने अवस्था रहेको उनले बताए । ‘प्रदेशका सांसद तारिखमा छन् । मेयरहरु तारिखमा छन् । सयौं कार्यकर्ता जेलमा छन् । यो संविधानले गर्दा’, उहाँले भने । संविधान संशोधनको आफ्नो माग पूरा नभएको ठाकुरले बताउनु भयो ।
‘दुई वर्षसम्म अविश्वासको प्रस्ताव त ल्याउन पाइन्न । अल्पमतमा परे भने । बजेट बनाउन सकिन्छ त रु गम्भीर त्रुटिहरु संविधानमा छ’, ठाकुरले संविधान संशोधनको औचित्यबारे भन्नुभयो । जातीय, क्षेत्रीय र लैंगिक आधारमा विभेद कायमै रहेकाले जसपा अहिलेको कोर्समा तटस्थ बस्न चाहेको उहाँले बताउनुभयो ।