Connect with us
Kapilvast Forest

उद्योग वाणिज्य महासङ्घको कोभिड सहायता केन्द्रबाट सङ्क्रमित लाभान्वित

२०७८, २१ जेष्ठ शुक्रबारमा प्रकाशित

udhyog

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घले स्थापना गरेको कोभिड–१९ स्वास्थ्य सहायता केन्द्रबाट कोभिडका ३०० भन्दा बढी सङ्क्रमित प्रत्यक्षरूपमा लाभान्वित भएका छन् ।

महासङ्घले गएकाे वैशाख २४ गतेदेखि महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संयोजन गर्ने गरी कोभिड–१९ स्वास्थ्य सहायता केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याएको थियो । देशमा कोभिड–१९ को दोस्रो लहरको महामारी अकस्मात बढेसँगै यस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवनरक्षा गर्ने राज्यको कार्यमा सहयोग पुर्याउने उद्देश्यले महासङ्घले यस केन्द्रको स्थापना गरेको थियो।

महासङ्घका अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा गएकाे वैशाख २३ गते बसेको महासङ्घको केन्द्रीय कार्यकारिणी समितिको बैठकले वरिष्ठ उपाध्यक्ष ढकालको संयोजकत्वमा जैनभवन, क्षेत्रपाटी र पुल्चोकमा आइसोलेशन सेन्टरको स्थापना गर्ने र स्वास्थ्य सहायता केन्द्रमार्फत सेवा दिने निर्णय गरेको थियो ।

सहायता केन्द्रअन्तर्गत कोभिड सङ्क्रमण भइ घरमा बस्न ठाउँ अभाव भएका परिवार तथा निम्न आय भएका मजदुरलगायतका बिरामी परिवारका सदस्यलाई खाना र औषधिको उचित व्यवस्थासहित उपत्यकाका तीन स्थानमा केन्द्र सञ्चालन गरेर सेवा दिन थालिएको हो । यी सेवामा निःशुल्क औषधि उपचार र खानाको पनि प्रबन्ध गरिएको छ । साथै चिकित्सक, नर्स र स्वास्थ्यकर्मी ती आइसोलेशन सेन्टर र केन्द्रहरुमा चौबीसै घण्टा उपलब्ध रहेका छन् ।

साथै आइसोलेशनमा बसेकाहरु एवं प्रत्यक्ष सम्पर्कमा आएका सङ्क्रमितलाई आइसीयू, भेन्टिलेटर, अक्सिजन सेवाका साथै अस्पतालमै भर्ना भएर उपचार गर्नुपर्ने प्रकृतिका बिरामीलाई अस्पतालमा सम्पर्क गरी आवश्यकतानुसार अस्पतलामा सुविधा उपलब्ध गराइएको छ । यसरी उपलब्ध गराइएको सेवाबाट अहिलेसम्म ३०० भन्दा बढी नागरिक प्रत्यक्षरूपमा लाभान्वित भएका महासङ्घले जनाएको छ ।

त्यस्तै यस सहायता केन्द्रका संयोजक तथा वरिष्ठ उपाध्यक्ष ढकालले आफूले निजीरूपमा क्षेत्रपाटीमा रहेकाे आइसोलेशन केन्द्रमा ३० वटा अक्सिजन सिलिन्डर उपलब्ध गराउनुभएको र त्यसबाट ५० जनाभन्दा बढी सङ्क्रमित लाभान्वित भएका पनि महासङ्घले जनाएको छ । सङ्क्रमितहरु आफैँ पनि ती आइसोलेशन सेन्टरमा आउन सक्ने तथा आवश्यकतानुसार काठमाण्डौ बाहिर तथा उपत्यकाबाट नै आवश्यकतानुसार हवाई तथा एम्बुलेन्स सेवा उपलब्ध गराई ती सहायता केन्द्रमा सङ्क्रमितलाई ल्याउने प्रबन्ध गरिएको थियो ।

देश सङ्कटमा पर्दा महासङ्घले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको मनन् गरी विगतमा पनि यस्ता विपद्को समयमा सहयोग गर्दै आएको र यसपटक पनि देश महामारीको सङ्कटमा परेका बेला आफ्नो त्यही दायित्वबोध गरेर सेवा शुरु गरिएको संयोजक ढकालले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘देशमा कोरोनाको दोस्रो लहरको सङ्कट सुरु हुन थालेपछि यो विपद्को घडीमा हामीले के गर्न सक्छौँ भनेर तत्कालै भर्चुअल बैठक बस्यौँ र महासङ्घका अध्यक्ष शेखर गोल्छाको अगुवाइमा हामीले यो सहायता केन्द्रको स्थापना गरी उहाँको आग्रह बमोजिम मैले समन्वय गर्दै आएको छु र अहिलेसम्म यो स्वास्थ्य सहायता जारी नै छ ।’

देशको निजी क्षेत्रले देश सङ्कटमा परेका बेला गरेको यो सानो अग्रसरता हो भन्दै वरिष्ठ उपाध्यक्ष ढकालले यो सहायता केन्द्रबाट धेरै नागरिक लाभान्वित हुने त छँदैछ अस्पतालमा पुग्ने नागरिकको चापलाई कम गर्न पनि सहयोग पुर्याएको महसुस आफूहरुले गरेको जानकारी दिनुभयो । कोभिड महामारीमा हालका लागि अत्यावश्यक देखिएका विभिन्न छ वटा सहयोगका क्षेत्रहरुको पहिचान गरी महासङ्घका सदस्यहरुमध्येबाट प्रायः ती क्षेत्रमा अनुभव रहेका फोकल पर्सनहरु तोकेर सहयोगका कार्यक्रम अघि बढाइएको पनि संयोजक ढकालले जानकारी दिनुभयो ।

त्यहीअनुसार अस्पताल व्यवस्थापनतर्फ कार्यकारिणी समिति सदस्य ई.देशबन्धु बस्नेत, उद्योग समिति सदस्य बाबुकाजी कार्की र स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकाल र सदस्य डा केयुर गौतम अक्सिजन सिलिन्डर व्यवस्थापनतर्फ तथा महासङ्घका उपाध्यक्ष रामचन्द्र साङ्घाई र कार्यकारिणी समिति सदस्य शौरभ ज्योति आइसोलेशन केन्द्र निर्माणतर्फ रहनुभएको छ ।

त्यसैगरी व्यवस्थापनतर्फ कार्यकारिणी समिति सदस्यद्धय हेमराज ढकाल र रञ्जितराज आचार्य तथा पूर्व कार्यकारिणी समिति सदस्य रविन श्रेष्ठ औषधि र मेडिकल उपकरणतर्फ कार्यकारिणी समिति सदस्यहरु प्रवलजङ्ग पाण्डे, भक्तबहादुर हमाल रहनुभएको छ । त्यस्तै होटल तथा हवाई उड्डयन व्यवस्थापनतर्फ कार्यकारिणी सदस्य ज्योत्सना श्रेष्ठ र पर्यटन र हवाई यातायात समितिका सदस्य विनोद सापकोटाको समन्वयमा काम भइरहेको महासङ्घले जनाएको छ ।

महासङ्घले सञ्चालन गरेको स्वास्थ्य अभियानबाट सङ्क्रमित बिरामी, तिनका परिवार र आफन्तहरुसहित धेरैलाई राहत पुगेको छ । केन्द्रबाट गम्भीर प्रकृतिका बिरामीदेखि भर्खर कोभिड सङ्क्रमण भएका डेढ वर्ष उमेरदेखि १०२ वर्षसम्मका ज्येष्ठ नागरिकलाई सहयोग पुगेको महासङ्घले जनाएको छ ।

केन्द्रले कोभिड सङ्क्रमणबाट जटिल अवस्थामा पुगेका बिरामीलाई आइसीयू तथा भेन्टिलेटर र अत्यावश्यक औषधि उपलब्ध गराइरहेको छ । आइसीयू र भेन्टिलेटर व्यवस्थापनका लागि सदस्यद्वय देशबन्धु रेग्मी र बाबुकाजी कार्कीले समन्वय गरेर अस्पतालमा शय्याको व्यवस्थापन गर्नुभएको थियो ।

त्यसैगरी प्लाजमा खोजि गरिरहेका, होम आइसोलेशनमा डाक्टरको सल्लाह खोजिरहेका, अक्सिजन भर्न समस्यामा परेका, अस्पताल जान एम्बुलेन्स नपाएका, तथा बाहिर जिल्लाका गम्भीर प्रकृतिका बिरामीलाई हेलिकोप्टर सेवा उपलब्ध गराउनुका सथै अन्य आवश्यक सहयोगको लागि सहजीकरण गरिएको छ ।

यस केन्द्रले हालसम्म अस्पतालमा भेन्टिलेटर र आइसीयू, अक्सिजन, अस्पताल शय्या, प्लाज्मा, रेमडेसिभर औषधिलगायतका अत्यावश्यक सेवा र औषधि तीन सय जनाभन्दा बढीलाई उपलब्ध गराएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu