Connect with us
Kapilvast Forest

साँझको फ्लाइट छ, दिउँसोसम्म खोप पाएको छैन

२०७८, ४ श्रावण सोमबारमा प्रकाशित

काठमाडौं – म्याग्दीका याम सुन्दास सोमबार दिउँसो असिन पसिन हुँदै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु परिसरको खोप केन्द्र आइपुगे । काठमाडौंका आधा दर्जन खोप केन्द्र चाहारेर टेकु आइपुगेका उहाँ निकै हतारमा देखिनुहुन्थ्यो ।

नहुन् पनि किन रु सोमबार साँझ वैदेशिक रोजगारीका लागि उड्नुपर्ने उहाँले दिउँसो चार बज्दासम्म खोप पाउनु भएको थिएन । ‘खोप नलगाई विदेश जानु भनेको आफैं फस्नु हो’, सुन्दास भन्नु भयो आजै साँझ उड्नुपर्ने मान्छेको यो हालत भइसक्यो ।’

अमेरिकी सरकारले दिएको एक डोजमात्र लगाए हुने जोनसन एण्ड जोनसनको खोपका लागि भौंतारिने युवामा सुन्दास मात्र पर्दैनन् । सोमबार टेकुस्थित अस्पतालमा उहाँजस्तै वैदेशिक रोजगारीमा जान खोप खोज्ने एक दर्जन युवाको एउटैअवस्था छ । फरक–फरक देश र कामका लागि जान लागेका उनीहरुको व्यथा भने एउटै थियो ।

म्याग्दीका सुन्दाससँगै उहाँका साथीहरू सरोज नेपाली र सन्तोष छन्त्याल पनि ट्याक्सी चढ्दै काठमाडौंका विभिन्न खोप केन्द्र डुलिरहनु भयो । युक्रेन जाने अन्तिम तयारीमा रहेका उहाँहरूले दुई दिन डुल्दा समेत खोप पाउन सक्नु भएन ।

साउदी अरब जाने टिकट बुक गरिसकेका मकवानपुरका इमानसिंह घिसिङ पनि निकै निराश देखिनुहुन्््थ्यो । दिउँसो एक बजे नै टेकु आइपुगेका उनी खोप नपाएपछि फर्कने सुर गर्दै हुनुन्छ । उहाँ दुई सातादेखि काठमाडौंको होटलमा बसिरहनु भएको छ ।

उहाँसँगै भेटिएका युवा विनोद तामाङ पनि खोप नलगाई विदेशको कम्पनीमा जाँदा फर्किनुपर्ने डरले चिन्तित देखिनुहुन्थ्यो । विनोदका अनुसार कम्पनीले खोप लगाएर मात्र आउनु भनेर मेल पठाएकाले जसरी पनि खोप लगाउनुपर्ने बाध्यता बनेको हो । ‘विदेशबाट फर्कायो भने हामीले नै जोखिम मोल्नुपर्छ भनी एजेन्टले बताएको छ’, तामाङले भन्नु भयो ‘ऋण गरेर विदेश गएको मान्छे फर्कनुपर्‍यो त घरखेत नै जान्छ ।’

उहाँ बालाजुदेखि ट्याक्सी चढेर टिचिङ अस्पताल, वीर हुँदै टेकु आइपुग्नु भएकोहो । तर सबै ठाउँमा लामो लाइन र निश्चित समूहलाई मात्र दिने तयारी छ भनेपछि उनी अर्को खोप केन्द्र खोज्दै हिँडनु भएको थियो ।

पहिलो डोज लगाएर दोस्रो खोप लगाउन खोजेका युवाको समस्या पनि उही छ । कहिले वृद्धलाई मात्र लगाउने त कहिले सरसफाइ गर्नेलाई लगाउने भनेर फिर्ता पठाइदिने गरेको उनीहरूको गुनासो छ । बिहान १२ बजेसम्म आइपुगेका केही युवाले भने टेकु अस्पतालको खोप केन्द्रमा खोप लगाउन पाए ।

तर खोप लगाएको प्रमाण दिने कार्ड (खोप–कार्ड) नेपालीमा लेखिएकाले अर्को समस्या सिर्जना भएको छ । ‘म्यानपावरमा अंग्रेजीबाट लेखिएको खोप कार्ड चाहिन्छ भनेको छ’ सिराहाका जनक साहले भन्नु भयो ‘नेपालीमा लेखिएको खोप कार्ड टेकु अस्पतालले अंग्रेजीमा बनाइदिन्छ भनेकाले यहाँ आएका हौं ।’

साह जस्तै खोप लगाइसकेका युवाहरु अस्पतालमा गएर अंग्रेजीमा लेखिएको कार्ड बनाउने हो वा नोटरी पब्लिकमा जाने भनेर अन्यौलमा थिए । उनीहरू हातमा पीसीआर रिपोर्ट, हरियो पासपोर्ट र खोप कार्ड बोकेर उभिरहनु भएको थियो ।

टेक अस्पतालका निर्देशक डा। अनुप बास्तोलाका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप महाशाखा मातहत खोप वितरण गरिने भएकाले यसमा अस्पतालको हात हुँदैन । यद्यपि खोप कार्ड अंग्रेजीमा बनाउनेबारे पहल भइरहेको उहाँले बताउनु भयो । ‘मैले खोप कार्ड अंग्रेजीमा पनि बनाउने भनेर कुरा राखेको छु’ बास्तोलाले भन्नु भयो , ‘अस्पतालको लेटरमा बनाउँदा पनि हुन्छ भने त्यो अर्को विकल्प बन्न सक्छ । जसरी हुन्छ समस्या त समाधान गरिनुपर्छ ।’

सोमबार बिहानै प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको अमेरिकी खोप काठमाडौंमका ४४ वटा केन्द्रबाट ४ गतेदेखि ६ गतेसम्म लगाउने निर्णय सरकारले गरेको छ । एक डोजमात्र लगाए हुने भनिएकाले वैदेशिक रोजगारीमा जानेहरूले यो खोप लगाउन खोजेका हुन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu