Connect with us
Kapilvast Forest

झिलिमिली’ भए पनि घटेको छैन पालाको प्रयोग

२०७८, १९ कार्तिक शुक्रबारमा प्रकाशित

काठमाडौं-
तिहारमा झिलिमिली बत्तीको रौनक आफ्नो ठाउँमा छँदैछ । तर, जतिसुकै झिलिमिली बत्तीले झलमल भए पनि पालामा बत्ती बाल्न छोडिएको छैन । पाला बनाएर व्यापार गर्नेलाई भ्याइनभ्याइ नै छ । बेच्नेलाई पनि पालाले निराश बनाएको छैन । किन्ने ग्राहक अहिले पनि उत्तिकै सङ्ख्यामा छन् ।

कालीमाटीमा पाला किन्दै गर्नु भएकी सरला भन्नुहुन्छ, ‘घरमा अरु झिलिमिली बत्ती भए पनि पालामा लक्ष्मी तथा अरु भगवानजीलाई बत्ती बाल्न पाला किन्न आएको हो ।’ आफूले हरेक वर्ष पाला किन्ने गरेको उहाँ बताउनुहुन्छ । ‘पालामा बत्ती नबाली चित्त बुझ्दैन, हाम्रो परम्परा पनि भएका कारण पालामा बत्ती बाल्न छोडेको छैन’ उहाँ भन्नुहुन्छ ।

कौसीमा तथा अन्त चाहिँ घरमा झिलिमिली बत्ती बाल्ने र भगवानको पूजा कोठा तथा आँगनमा भने पालामा तेल हालेरै बत्ती बाल्ने उहाँ बताउनु हुन्छ । पाला पोहोर भन्दा केही महँगो भए पनि त्यसलाई खासै महँगो मान्नु भएन उहाँले। ‘पोहोर २५ रुपैयाँ दर्जन थियो अहिले बढेर ३५/४० रुपैयाँ भएछ’ उहाँले भन्नुभयो ।

सावित्री गुरुङ पनि घरमा झिलिमिली बत्ती भए पनि पाला किन्दै हुनुहुन्छ । ‘घरमा अरु केटाकेटी तथा छोरा बुहारीलाई झिलिमिली बत्ती बाल्छन्’ उहाँ भन्नुहुन्छ, ‘मैले पूजा गर्ने हुँदा म भने पालामा तेल हालेरै बत्ती बाल्छु । आफूले पहिलेदेखि बाल्दै आएको पनि हो पाला ।’ अहिले झिलिमिली बत्ती र यस्तै किसिमको बिजुलीबाट बल्ने पाला आकारकै बत्ती आए पनि गुरुङ भने त्यस्तो बत्ती बाल्नु हुन्न ।

‘म पुरानो मान्छे पुरानो चलन’ उहाँ भन्नु हुन्छ । उहाँ हरेक वर्ष पाला किन्नु हुन्छ । अघिल्लो वर्ष २५ रुपैयाँमा १ दर्जन पाला किनेको उहाँले यस वर्ष भने १ दर्जन पालाको ४० रुपैयाँ तिर्नु भयो ।

‘सबै चिजमा भाउ बढेको छ । अरु चिज हेरी यसमा त के भाउ बढेको छ र । जम्मा १५ रुपैयाँ त बढेछ’ उहाँ भन्नु हुन्छ ।रामचन्द्र शाह भने अहिले १ दर्जन पालाको ३५ रुपैयाँमा बेच्दै हुनुहुन्छ । उहाँले यी पालाहरु भोटेबहालबाट ल्याउनु हुन्छ बेच्नको लागि ।

उहाँ हरेक वर्ष तिहारमा तिहारका लागि आवश्यक सप्तरङ्गी टीका, प्लास्टिकका माला, नरिवल, लक्ष्मीको फोटो, सानो घैँटो लगायतका सामग्री राखेर पसल राख्नु हुन्छ ।

‘यस पटक पालाको भाउ बढेको छैन । पहिले पनि ३५ रुपैयाँमा बेचेको हो । अहिले पनि ३५ रुपैयाँमै बेच्दैछु’ उहाँ भन्नु हुन्छ ।पहिले पनि उहाँले ल्याउने भोटेबहालमा ८ सय देखि ८ सय ४० सम्ममा १ बोरा पाला दिन्थ्यो । अहिले पनि भाउ त्यही नै छ ।पहिले पनि दिनको १/२ बोरा बेचिरहेको र अहिले पनि आफूले दैनिक २ बोरा जति पाला बेचिरहेको उहाँले बताउनु भयो ।

सिकन्दर जैसवाल पनि हरेक वर्ष पाला लगायत तिहारका लागि आवश्यक सामान राख्नु हुन्छ । यस वर्ष पालाको दाम भने ४० देखि ५० रुपैयाँ रहेको तथा पोहोर भने पाला २५ देखि ३० मा बेचेको पनि उहाँले जानकारी दिनु भयो ।

तिहारमा अरु झिलिमिली बत्ती धेरै आए पनि पाला पनि राम्रै बिक्री भएको र अझ पाला पहिले भन्दा धेरै नै बिक्री भएको पनि उहाँले बताउनु भयो ।पाला तथा माटाका भाँडा समेत बेच्दै गर्नु भएका रमेश किजुले झिलिमिली बत्ती भए पनि पाला राम्रै बिकिरहेको बताउन भयो ।

‘पाला राम्रै बिकेको छ, तर अब त पाला नै पाउन छोड्ला जस्तो छ,’ उहाँले भन्नुभयो, ‘यहाँ पाला ल्याउने मान्छे अब त बनाउने मान्छे पनि छैन अनि पाला बनाउने माटो पनि पाइँदैन भन्दै थिए ।’अब यस्तै हुने हो भने झिलिमिली बत्ती भन्दा पाला महँगो पर्न जान्छ किजुले भन्नुभयो ।

पाला किन्दै गर्नु भएको हरिहर योगी पनि आफूले हरेक वर्ष पाला किनेर लैजाने गरेको बताउनु भयो । झिलिमिली बत्ती जतिसुकै भए पनि पहिले देखि बाल्दै आएको पालाले हाम्रो परम्परा साथै संस्कृति पनि बचाउने कारणले आफूले पाला लाने गरेको बताउनु भयो ।

पाला माटोको बन्ने भएको हुनाले माटोले जहिले पनि प्रकृतिसँग जोड्ने भएका कारण पनि पालामा बत्ती बाल्नु राम्रो भएको भन्नु हुन्छ उहाँ ।अहिले सबै मान्छे प्रकृतिसँग नजिक हुन खोजेका कारण पनि मान्छेहरु पालातिर आकर्षित भएका हुन कि जस्तो लाग्छ’ उहाँले थप्नु भयो ‘ पाला किन्दै गरेका रामकाजी उप्रेती भन्नु हुन्छ, ‘हामीले जतिसुकै झिलिमिली बत्ती बाले पनि परम्परा जोगाउन पनि पालामा बत्ती बाल्नु पर्छ ।’

‘पहिले पहिले त बिजुली बत्तीको मात्र भर पर्दा बत्ती झ्यापझ्याप निभ्ने गरेका कारण पनि अलि धेरै पाला बालिन्थ्यो । अहिले भने अलि कम भएको छ । तर पनि पाला बाल्न छोडिएको छैन’ उहाँले भन्नुभयो । हामीले अहिलेका युवा पुस्तालाई आफ्नो परम्परा र संस्कृति सिकाउन पनि पालामा बत्ती बाल्न छोड्न नहुने उहाँको भनाइ छ ।

हेर्दा पनि राम्रो अनि झिलिमिली बत्ती एक पटक किनेपछि ४/५ वर्ष पुग्ने हुनाले पनि झिलिमिली बत्ती तिर धेरै मान्छे लागेका छन,’ उहाँले भन्नुभयो ।

‘हामीले हाम्रो परम्परा जगेर्ना नगर्ने हो भने कस्ले गर्छ ?’ उहाँले भन्नुभयो । ‘हामी पहिले त केराको सुतलामा बत्ती बाल्थ्यौँ’ पाला किन्दै गरेकी मिरा आचार्यले भन्नुभयो, ‘अझ अहिलेसम्म त पाला पाइएको कारण घरमा झिलिमिली बत्ती भए पनि पालामा बाल्ने गरेका छौँ । अन्त नभए पनि भगवानको थानमा र आँगनमा चाहिँ अहिलेसम्म पालामा नै बत्ती बाल्ने गरेका छौँ ।’

‘अब त पाला बनाउने माटो पनि पाइन छोड्यो भन्ने सुनेको छु । पाला पनि बनाउने नयाँ पुस्ता पनि छैन । अब हाम्रा छोराछोरीको पालामा त यो पनि कथा होला जस्तो छ’ उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu