रौतहटका १५४ वडामा काँग्रेसको अधिवेशन सम्पन्न, अनसनकारीद्वारा बहिष्कार
रौतहट-रौतहटमा १५४ वडामा नेपाली काँग्रेसको अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ । सदस्यता विवादलाई लिएर तीन महिना बढी समयदेखि केन्द्रीय कार्यालय सानेपामा रिले अनसनमा बसेका नेता कार्यकर्ताले भने अधिवेशन बहिष्कार गरेका छन् । बाँकी ३ वटा वडामा चुनावी प्रक्रिया अनुसार हुने निर्वाचन अधिकारीले जनाउनु भयो ।
१६ नगरपालिका, दुई गाउँपालिका गरी १८ पालिका रहेको रौतहट जिल्लामा १५७ वटा वडा रहेको जसमध्ये १५४ वडाको भेला सहमतिबाट सम्पन्न भएको हो । ३ वटा वडामा निर्वाचनको प्रक्रियामा जानुपर्ने भएको हुँदा भोलि आइतबार अधिवेशन हुने रौतहटका प्रमुख निर्वाचन अधिकृत दीपक रेग्मीले बताउनु भयो ।
क्रियाशील सदस्यताको विषयलाई लिएर क्षेत्र १ का नेता कार्यकर्ता एक सयभन्दा बढी दिन देखि केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसिरहेका छन् । केन्द्रको नीति निर्देशनको पालना गर्दै रौतहटको नेता कार्यकर्ताको सहयोगले शान्तिपूर्ण अधिवेशन सम्पन्न गराउँदा निर्वाचन अधिकृत रेग्मीले खुसी व्यक्त गरे ।
नेपाली काँग्रेसको निवर्तमान सभापति कृष्णप्रसाद यादवले सबैको सहयोग र सद्भावले क्रियाशील सदस्यता विवादको टुंगो लगाई अधिवेशन प्रक्रियामा गएको बताउनु भयो । उता सदस्यता विवादको विषय लिएर एक सयभन्दा बढी दिनदेखि सानेपामा रिले अनसन बसेका काँग्रेसका जिल्ला कोषाध्यक्ष राम साहले आफूहरूले अधिवेशन बहिष्कार गरेको बताउनु भयो ।
विधान विपरीत भएको सिफारिस नसच्याएकाले अनसनकारी पक्षले अधिवेशन बहिष्कार गरेको साहले बताउनु भयो । निवर्तमान जिल्ला सभापति कृष्ण यादव पक्षले एकोहोरो अधिवेशन गराए हाइ कुनै पनि वडाको अधिवेशनमा गएनौ उहाँले भन्नु भयो । त्यसै गरी जिल्लाको केही वडामा वडा कमिटी सभापति समेतलाई जानकारी नफर्किएर निवर्तमान जिल्ला सभापति कृष्ण यादवले एकलौटी गरेको उनले आरोप लगाउनु भयो । तर निवर्तमान सभापति यादवले उक्त आरोपको खण्डन गर्दै सबै वडाहरूमा सहमतिमा अधिवेशन भएको दाबी गर्नु भयो ।