जातीय विभेद तथा छुवाछुत मानव समाजका कलंक हुन् : प्रधानमन्त्री देउवा
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले ५७औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा जातीय विभेद उन्मूलनका लागि संघर्ष गर्ने सम्पूर्ण अधिकारकर्मी, योद्धा तथा अग्रजहरूप्रति सम्मान व्यक्त गरेका छन् । सोमबार (मार्च २१) ५७औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइँदै छ ।
दिवसका अवसरमा शुभकामना सन्देशमार्फत उनले जातीय विभेद तथा छुवाछुत मानव समाजको कलंक भएको उल्लेख गर्दै २१औँ शताब्दीमा कोही पनि मानिस जातीय विभेद र छुवाछुतबाट अपहेलित र अपमानित हुन नहुने बताएका छन् ।
मानव अधिकारको विश्वव्यापी घोषणापत्रले सबै मानिस समान हुन् भन्दै सबैलाई स्वतन्त्रता र आत्मसम्मानपूर्वक बाँच्न पाउने हकको प्रत्याभूति गरेको छ । साथै, संयुक्त राष्ट्रसंघको जातीय भेद्भाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६५ र अन्य विभिन्न घोषणा तथा प्रतिज्ञापत्रले पनि जातीय भेदभावलाई कानुनतः दण्डनीय बनाउँदै सबै मानवका लागि समानता, स्वतन्त्रता र अविभेदको सुनिश्चितता गरेका छन्