Connect with us
Kapilvast Forest

स्वीस बैंकमा पैसा राख्ने नेपाली पत्ता लगाउन कठिन छ : अर्थमन्त्री खतिवडा

२०७६, ५ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशी बैंकमा पैसा राख्ने नेपालीको खोजी गर्न धेरै कठिन रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले सम्बन्धित देशको सहयोग नपाएसम्म त्यस्ता रकमको अनुसन्धान पूरा हुन नसक्ने बताएका हुन् ।

‘हामीलाई सूचना सेयर गर्नुपर्ने अन्य संस्थाबाट जबसम्म सहयोग पाउँदैनौंं तबसम्म अनुसन्धान सम्पन्न हुँदैन’ उनले भने ‘सूचना प्रणाली आदान प्रदान प्रणाली सुदृढ भएमा मात्र सम्भव हुन्छ ।’

उनले विदेशी बैंकमा नेपाली नागरिकको रकमको खोजी भने गरिरहेको बताए । त्यसका लागि अर्थ मन्त्रालयका राजस्व सचिवको अध्यक्षतामा समिति गठन भएको र त्यसले काम गरिरहेको बताए ।

‘यस सम्बन्धमा अर्थ मन्त्रालयको राजस्व सचिव अध्यक्षतामा राष्ट्र बैक, नेपाल प्रहरी, सम्पत्तिसम्बन्धी वित्तीय जानकारी इकाइ सम्मिलित समितिले काम गरिरहेको छ । यसको निरन्तर बैठक बसिरहेको छ’ उनले भने ‘यससम्बन्धी केही तथ्य सत्य बाहिर निकाल्न हामीलाई सम्भव हुनेछ ।’

प्रतिनिधिसभामा कांग्रेस सांसद अतहर कमल मुसलमानले अर्थमन्त्री खतिवडालाई ‘नेपाली नागरिकहरुबाट गैरकानुनी रुपमा स्वीस बैंकमा जम्मा भएको देखिएको ५३ अर्ब रुपैयाँको के कारबाही हुँदैछ र कहिलेसम्म पूरा हुन्छ ?’ भनी प्रश्न गरेका थिए ।

त्यस्तै कांग्रेस सांसद रामबहादुर विष्टले ‘नेपालमा ठाउँ नभएर स्वीस बैंकमा राख्ने भाग्यमानी को हुन् र त्यो रकम फिर्ता ल्याउन सक्ने हिम्मत छ कि छैन ?’ भनी सोधेका थिए ।

अर्थमन्त्री खतिवडाले सञ्चार माध्यममा सार्वजनिक भएका नाम नेपालीको नभई नेपालीसँग मिल्दोजुल्दो भएको पनि हुन सक्ने बताए । ‘कतिपय नेपाली मूलका अन्य मुलुकका वासिन्दा पनि हुन सक्छन् । गैर आवासीय नेपाली हुन सक्छन् र नेपाली पनि हुन सक्छन्’ उनले भने ‘नाम मिलेकै आधारमा यति अर्ब विदेशमा छ भन्न मिल्दैन ।’

‘राजपरिवारको रकम ल्याइसक्यौं’

अर्थमन्त्री खतिवडाले राजपरिवारको नाममा रहेका केही रकम नेपाल ल्याइसकेको बताए । नेपाल ट्रष्ट गठन भएपछि त्यसले खोजी गर्दा राजपरिवारका केही सदस्यको विभिन्न बैंकमा रकम भेटिएको भन्दै उनाले त्यसलाई नेपाल ट्रष्ट मातहत ल्याइसकेको बताए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu