फेवातालमा बंगलादेशी राष्ट्रपतिको जलबिहार
नेपालको चार दिने सद्भावना भ्रमणमा आएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पोखरा गएका छन्। पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्न आफ्नी धर्मपत्नीका साथ राष्ट्रपति हमिद त्यहाँ गएका हुन्।
उनी काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरबाट पोखरा विमानस्थलमा पुगेका थिए। उनलाई गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन, प्रदेशका कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारी, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले स्वागत गरेका थिए।
राष्ट्रपति हमिदलाई पञ्चकन्याद्वारा फूल अर्पण गर्नुका साथै पञ्चेबाजाको धुनबाट भव्य स्वागत गरिएको थियो।
विमानस्थलबाट राष्ट्रपति हमिद आरामका लागि फिस्टेल होटल पुगेका थिए। त्यसपछि उनले पोखराको फेवातालमा जलबिहार गरेका थिए।