ग्लोबल आइएमई बैंकको नाफा २४.४८ प्रतिशतले बढ्यो
काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेखनीय वित्तीय सुधार गरेको छ । बैंकले असोज मसान्तसम्म २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको बैंकले यस वर्ष नाफा २४.४८ प्रतिशतले वृद्धि गरेको हो ।
बैंकको नाफा बढ्नुमा कर्जा नोक्सानी व्यवस्थापन खर्चमा आएको कमी प्रमुख कारण देखिएको छ। गत वर्ष पहिलो त्रैमासमा १ अर्ब १ करोड रुपैयाँ रहेको यस्तो खर्च चालु वर्षको सोही अवधिमा घटेर ४८ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ ।
यसैगरी बैंकको खुद ब्याज आम्दानीमा पनि सामान्य सुधार आएको छ । गत वर्ष ४ अर्ब १३ करोड ३० लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी यस वर्ष बढेर ४ अर्ब १९ करोड ३२ लाख रुपैयाँ पुगेको छ। यो १.४५ प्रतिशतको वृद्धि हो। समीक्षा अवधिमा बैंकले १ अर्ब २२ करोड १२ लाख रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी गरेको छ ।
नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १९ रुपैयाँ ५१ पैसाबाट बढेर २३ रुपैयाँ ३५ पैसा पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ७७ पैसा र मूल्य आम्दानी अनुपात १०.८८ गुणा रहेको छ ।
बैंकको वितरणयोग्य नाफा २ अर्ब ७ करोड २ लाख रुपैयाँ पुगेको छ। यसले बैंकको लाभांश क्षमता १७.७५ प्रतिशत कायम गरेको छ ।
व्यवसाय विस्तारतर्फ पनि बैंकले प्रगति गरेको छ । निक्षेप संकलन ३.११ प्रतिशतले बढेर ६ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ७.४८ प्रतिशतले वृद्धि भई ४ खर्ब ७१ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकको निष्क्रिय कर्जा अनुपात ४.९८ प्रतिशतबाट घटेर ४.७९ प्रतिशतमा झरेको छ । समग्रमा नाफा, ईपीएस र खराब कर्जामा आएको सुधार सकारात्मक देखिए पनि आगामी दिनमा कर्जा असुली र आम्दानीको निरन्तरताले बैंकको वित्तीय प्रदर्शन तथा लाभांश क्षमतालाई निर्धारण गर्नेछ ।