Connect with us
Kapilvast Forest

मंसिर १७ देखि भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला

२०८३, १७ कार्तिक सोमबारमा प्रकाशित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आयोजनामा आगामी मंसिर १७ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ११औँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२६ आयोजना हुने भएको छ ।

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवर्धन केन्द्रको प्रवर्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा हुन लागेको मेलामा नेपालसहित चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटानलगायत देशको सहभागिता रहनेछ ।

मेलामा २०० भन्दा बढी स्टलमार्फत स्वदेशी तथा विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछ । यस वर्षको मेलामा करिब एक लाख स्वदेशी तथा विदेशी अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ ।

मेलाबारे जानकारी दिँदै महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्न र व्यापारिक गतिविधि विस्तार गर्न यस्ता अन्तर्राष्ट्रिय मेलाको महत्वपूर्ण भूमिका रहने बताए । । उनले बजारमा माग कमजोर रहेको, निजी लगानी अपेक्षित रूपमा विस्तार हुन नसकेको र उद्योग व्यवसायको मनोबलमा कमी आएको वर्तमान अवस्थामा उपलब्ध वित्तीय स्रोत, ऊर्जा र उद्यमशीलतालाई उत्पादन, लगानी र रोजगारीमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।