म्यानचेस्टरको जितमा ग्रीनवुडको दुई गोल
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले बर्नलेमाथि ३–१ को सहज जित निकालेको छ ।
घरेलु मैदानमा युनाइटेडको जितमा मासन ग्रीनवुडले दुई तथा इडिन्सन काभानीले एक गोल गरे ।
जेम्स तार्कोवस्कीले एक गोल फर्काए । ओल्डट्राफोर्डमा आइतबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा सबै चार गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
४८औं मिनेटमा मासन ग्रीनवुडले मार्कुस रासफोर्डको पासमा गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए । ५०औं मिनेटमा जेम्सले एस्ले वेस्टवुडको पासमा बराबरी गोल फर्काए ।
८४औं मिनेटमा मासन ग्रीनवुडले पल पोग्वाको पासमा गोल गर्दै युनाइटेडलाई २–१ ले अघि बढाए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा इडिन्सन काभनीले डोनी भान डि विकको पासमा गोल गर्दै युनाइटेडलाई ३–१ को सहज जित दिलाए ।
जितसँगै दोस्रो स्थानमा रहेको युनाइटेडको ३२ खेलबाट ६६ अंक पुगेको छ । युनाइटेड शीर्षस्थानको म्यानचेस्टर सिटीसँग ८ अंकले पछि छ । सिटीको ७४ अंक छ । पराजित बर्नले ३३ अंक जोडेर १७औं स्थानमा रहेको छ ।