Connect with us
Kapilvast Forest

७० लाख प्रदेश बजेट निजी खेत, घडेरीमा: चन्द्रौटामा सत्ताको संरक्षणमा खुला भ्रष्टाचार

२०८२, १३ असार शुक्रबारमा प्रकाशित

न्युज सेन्टर नेपाल, कपिलवस्तु

लुम्बिनी प्रदेश सरकारको सहरी विकास तथा खानेपानी मन्त्रालय मार्फत शिवराज नगरपालिका–५ चन्द्रौटा चोकस्थित एक निजी खेत तथा घडेरीमा ७० लाख रुपैयाँको सडक निर्माणका लागि बजेट विनियोजन गरिएको छ ।

नागरिकले तिरेको करको ७० लाख कपिलवस्तुमा राजनीतिक र प्रशासनिक मिलेमतोमा हुने खुला भ्रष्टाचारको घिनलाग्दो उदाहरण बनेको छ ।

चन्द्रौटा चोक स्थित नारायणी पेट्रोल पम्पको दक्षिणतर्फ रहेको राजेन्द्र बहादुर शाहको नाममा रहेको १६ कट्ठा जग्गा दुई महिनाअघि करिब ६ करोड रुपैयाँमा बिक्री भएको हो ।

उक्त जग्गा चन्द्रौटाका व्यापारी जिवलाल पौडेल, हिरा भण्डारी, हेमलाल पौडेल, यज्ञ पाण्डे लगायतले खरिद गरेका थिए । जसमा सरकारको विकास बजेट हालेर जग्गाको भाउ आकासिने खेल खुलेआम भएको देखिन्छ ।
लुम्बिनी प्रदेश सरकारको सहरी विकास तथा खानेपानी मन्त्रालयले पेस गरेको बजेट किताबको बजेट शिर्षक ३११५९,  पेज नं २७१ मा नारायणी पेट्रोल पम्पको पुर्वदेखी दक्षिणतर्फ बस्ती विकास शिवराज ५ कपिलवस्तुको लागि ७० लाख बिनियोजन गरिएको छ ।

सबैभन्दा घिनलाग्दो पक्ष के छ भने, सडक बनाउने नाममा बजेट छुट्याइएको ठाउँमा कुनै घर तथा बस्ती नै छैन । खाली खेतमै सरकारको रकम हालेर व्यक्तिगत सम्पत्तिको मूल्य बढाउने योजनामा प्रदेश सरकार आफैँ साझेदार बनेको छ ।

यो कार्य केवल अनियमितता होइन, सरकारी स्रोतको दुरुपयोग, सार्वजनिक अधिकारको बलात्कार र नाङ्गो भ्रष्टाचार हो । जनता कर तिर्छन्, सरकार व्यापारीका खेत, घडेरीमा बजेट हाल्छ ।

स्थानीय स्रोतका अनुसार, यो सम्पूर्ण प्रक्रिया योजना अनुसार सेटिङ गरिएको थियो । सडकको नाममा बजेट हाल्ने। अन्ततः नाफा उठाउने भने व्यापारी र उनीहरूलाई संरक्षण गर्ने नेताहरू नै लागेका छन ।

शिवराज नगरपालिका र लुम्बिनी प्रदेश सरकारका जिम्मेवार निकायहरु यसमा मूकदर्शक बनेका छन । सरोकारवाला निकायको संलग्नता रहेको देखिन्छ ।

यदि यो योजना तत्काल खारेज गरिएन र दोषीहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएन भने, प्रदेश सरकार नै जग्गा दलालहरूलाई पोस्ने काम गरेको हो भन्ने पुष्टि हुने छ ।

शिवराज नगरपालिकाको वर्षौंदेखि सञ्चालनमा रहेका पुराना सडकहरू जीर्ण बनेका छन्। तर त्यसतर्फ कसैको ध्यान जान सकेको छैन ।
न्युज सेन्टर नेपाल यो प्रकरणको तथ्यगत अनुसन्धान गरि यो समाचार प्रकाशन तथा सार्वजनिक गर्दै जानेछ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu