डेढ करोडसहित चिनियाँ नागरिक समातिएको घटना बोधिचित्तसँग जोडियो
काठमाडौं-
काठमाडौं महानगरपालिका–६, बौद्धको नयाँबस्तीबाट १ करोड ४४ लाख रुपैयाँसहित पक्राउ परेका चिनियाँ नागरिक बोधिचित्तको माला कारोबारी भएको खुलेको छ ।आइतबार राति १० बजेतिर चिनियाँ नागरिक वाङ जियानको डेरामा प्रहरीले छापा मारेर प्रहरीले स्रोत नखुलेको भन्दै १ करोड ४४ लाख रुपैयाँ बरामद गरेको थियो । रकम बरामद भएपछि अनुसन्धान गर्ने क्रममा उनले आफू बोधिचित्तको माला खरिद गर्न आएको बताएका छन् ।जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहोरा भन्छन्, ‘उनले आफूलाई बोधिचित्तको माला किन्न आएको भनेर चिनाएका छन्, यो माला खरिद गर्ने सिजन पनि हो । तर, त्यो रकमको स्रोत नखुलेकाले नियन्त्रणमा लिइएको हो ।’
प्रहरीले हुण्डी कारोबारबाट त्यो रकम आएको हुनसक्ने अनुमान गरेको छ । पक्राउ परेका चिनियाँ नागरिक डेढ महिनाअघि मात्र भिजिट भिसामा काठमाडौं आएका थिए । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, उनले विजनेस भिसामा परिणत गर्ने तयारी समेत गरिरहेको सुनाएका थिए ।प्रहरीले जिल्ला अदालत काठमाडौंबाट विस्तृत अनुसन्धानका लागि म्याद लिएर जाँच गरिरहेको काठमाडौंका एसएसपी विश्व अधिकारी बताउँछन् ।
जानकारहरुका अनुसार, २०७०/७१ सालको आसपासतिर तिब्बती धर्मगुरु दलाई लामाले आफ्नो प्रवचनमा बोधिचित्तको बारेमा व्याख्या गरेपछि यसको मूल्य बढेको हो ।चीनमा यो महँगो मूल्यमा बिक्री हुने गरेको छ । त्यही कारण तिमालको बोधिचित्त लुटपाट भएको समाचार समेत बेलाबेला आउने गरेको छ ।