संसद्को ‘डेडलक’प्रति राष्ट्रपतिको चासो
काठमाडौं –
राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा संसद जनताका आवाज मुखरित गर्ने र आवश्यक कानुन बनाउने थलो भएको बताएका छन् ।बुधबार संसदीय मामिला पत्रकार समाज आवद्ध पत्रकारहरूसँग राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा उनले संसदको काम सरकार बनाउने पनि रहेको स्मरण गरे ।‘वास्तवमा संसदको काम अर्को पनि छ, त्यो सरकार निर्माण गर्ने हो’ राष्ट्रपति पौडेलले भने, ‘संसदले सरकार निर्माण गर्ने व्यवस्था भन्दा अर्को विकल्पमा त्यस्तो केही छ कि भनेर सोच्न थालियो भने हामी जुन डेमोक्रेसीको कुरा गरिराख्या छौं, त्यसको रिभर्समा जान सक्छौं, त्यसको अर्कै पाटोतिर पुग्न सक्छौं, त्यो डेन्जर छ ।’ तर, यसबारे राष्ट्रपति पौडेलले थप व्याख्या गरेनन् ।
बरु नेपालमा प्रजातान्त्रिक अभ्यास कम भएको भन्दै उनले लोकतान्त्रिक पद्दति नै उत्तम व्यवस्था भएको बताए । उनका अनुसार नेपालले अवलम्बन गरेको वर्तमान व्यवस्था सबैले अपनत्व लिन सक्ने सन्तुलित व्यवस्था हो ।‘‘सन्तुलनको व्यवस्था हुनुपर्छ । सबै किसिमको सन्तुलन किनभने जनताका प्रतिनिधि महिला र दलितका सबैका प्रतिनिधि, सबैका प्रतिनिधिहरुको सत्तामा पहुँच हुने’ राष्ट्रपति पौडेलले नेपालले अवलम्बन गरेको व्यवस्थाको चर्चा गरे ।तथापि, नेपालमा प्रजातान्त्रिक अभ्यास हुँदै आएको र कतिपय सन्दर्भमा अभ्यासमा पछाडि बताए । ‘यहाँ अलिकति डेमोक्रेसीको प्राक्टिस कम भइराख्या छ सबै कुरामा, हामी अभ्यासमा पनि पछाडि नै छौं, अनुभव पनि कम नै छ’ उनले भने ।
अभ्यास गर्दै अगाडि बढेको पनि उनले बताए । ‘यसले साच्चिकै जननिर्वाचित भएर साकार रुप, संस्थागत रुप लिएको छ । सन्तुलित व्यवस्था यही नै हो’ उनले भने ।जनप्रतिनिधिले राष्ट्रिय आकांक्षा ख्याल गरेर जिम्मेवारी निर्वाह गर्नुपर्नेमा पनि राष्ट्रपति पौडेलको जोड छ । ‘अत्यावश्यक ऐन बनाउनेमा हुने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकांक्षा प्राप्तीमा अवरोध सिर्जना गर्छ’ उनले भने ।
संसदमा डेडलकको अवस्था आउन दिन नहुने उनको सुझाव छ । ‘संसदमा डेडलकको अवस्था आउन नदिन आवश्यक छलफल, सहमति र सहकार्य गर्नाले संसदीय गतिविधिलाई अझ जनमुखी बनाउँछ र संसदप्रति जनताको भरोसा जागृत गराउँछ’ राष्ट्रपति पौडेलले भने ।यसो हुँदा संसदप्रति जनताको भरोसा जागृत गराउन सकिने राष्ट्रपति पौडेलको सुझाव छ ।