एमालेमा प्रतिबन्धपछि अब के छन् विद्यासँग विकल्प
काठमाडौ –
सक्रिय राजनीतिमा रोक्ने एमाले केन्द्रीय कमिटीबाट ‘अनपेक्षित र अपमानपूर्ण’ निर्णय आएपछि निराश बनेकी पूर्वराष्ट्रपति विद्या भण्डारी आगामी राजनीतिक भूमिका र सम्भावित विकल्पबारे परामर्शमा जुटेकी छिन् । एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सक्रिय राजनीतिमा प्रतिबन्ध लगाउने निर्णय भएपछि असन्तुष्ट र निराश बनेकी विद्याले निकटस्थहरूसँग बुधबार दिनभर आगामी कदमबारे प्रारम्भिक विमर्श गरेकी छिन् । नेता तथा विश्लेषकका अनुसार विद्यामाझ आगामी कदमबारे सीमित र केही जोखिमपूर्ण विकल्प छन् ।
लामो समयदेखिको संवाद, सम्पर्क र छलफलमा सकारात्मक देखिएका ओलीले पछिल्ला दिनमा आफू पक्षधर नेताहरूमाथि कारबाहीसम्मको धम्की दिएर दबाब सिर्जना गर्दै केन्द्रीय कमिटीबाट पार्टीमा फर्किने ढोका बन्द गराएको भण्डारीको निष्कर्ष छ । हालको निर्णयले आफ्नो विश्वास र भरोसा चकनाचुर बनाएको विद्याको बुझाइ छ । उनले प्रतिबन्धलाई अनपेक्षित घटनाका रूपमा लिएको निकट नेता बताउँछन् ।
‘निकटस्थहरूसँगको छलफलमा उहाँले पार्टी सदस्यता नवीकरण नै रोक्ने निषेधको तहमा निर्णय नहुने विश्वास राख्नुभएको थियो । अहिले केन्द्रीय कमिटीको पछिल्लो निर्णयलाई उहाँले अनपेक्षित घटनाका रूपमा लिनुभएको छ । समग्र छलफलपछि भावी कदमबारे खुल्ने उहाँको योजना छ,’ बुधबार विद्यासँग संवाद गरेका एमालेका एक नेताले नयाँ पत्रिकासँग भने । बुधबार नै विद्याको सदस्यता पार्टी प्रणालीबाट हटाइएको छ ।
मंगलबार मध्यरातमा एमाले केन्द्रीय कमिटीले सक्रिय राजनीतिमा आउन प्रतिबन्ध लगाउने निर्णय गरेपछि विद्या बुधबार बिहानैदेखि सक्रिय भएकी थिइन् । सोही क्रममा उनले बुधबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित केही पदाधिकारीसँग टेलिफोन संवाद गरेकी छिन् भने केही निकटस्थ नेताहरूलाई भंगालस्थित निवासमा भेटेकी थिइन् ।
प्रदेश र जिल्ला तहका नेताहरूसँग टेलिफोन र अनलाइनबाट संवाद गर्दै भावी कदमबारे प्रारम्भिक सुझाव लिएको निकट स्रोत बताउँछ । तर, कसरी अगाडि बढ्ने भन्ने विषयमा उनले निकटस्थहरूसँग संगठित र सामूहिक छलफल भने गरिसकेकी छैनन् ।
बुधबार भेट गरेका निकट नेता विनोद ढकालले तीन दिनभित्र पूर्वराष्ट्रपति विद्याले आगामी कदमबारे औपचारिक फोरममार्फत धारणा सार्वजनिक गर्ने बताए । ‘उहाँले केही तयारी गर्दै हुनुहुन्छ । पार्टीले गरेको पछिल्लो निर्णय र आगामी कदमबारे उहाँले कुनै औपचारिक फोरमबाटै तीन दिनभित्र धारणा सार्वजनिक गर्नुहुनेछ,’ ढकालले भने । बिहीबार र शुक्रबार पूर्वराष्ट्रपति विद्या दुईवटा औपचारिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै छिन् ।
यस्ता छन् विकल्प
- केन्द्रीय कमिटीको निर्णयमाथि पुनर्विचारका लागि विधान महाधिवेशनमा आफूपक्षीय नेताहरूमार्फत फरक प्रस्ताव लैजाने र त्यसलाई पारित गर्ने वातावरण बनाउन भूमिका खेल्ने
- केन्द्रीय कमिटीको निर्णय ‘असंवैधानिक र गैरकानुनी’ रहेको दाबीसहित अदालतबाट कानुनी उपचार खोज्ने
- आफू बाहिरै बसेर आगामी महाधिवेशनमा ओलीलाई काउन्टर दिने गरी अर्को नेताको नेतृत्वमा टिम नै खडा गर्ने, त्यसका लागि अहिल्यैदेखि अभियान चलाएर पार्टीभित्र प्रभाव जमाउने
- अहिले बाहिरै रहे पनि आगामी महाधिवेशनबाट आफ्नो टिम जिताउने, अहिलेको निर्णय सच्याएर अर्कोपटक नेतृत्वको तयारी गर्ने
- आफूनिकट नेताहरूलाई लिएर छुट्टै पार्टी बनाउने र सक्रिय राजनीतिमा होमिने
किन मौन बसे ईश्वर पोखरेल ?
पार्टीको आगामी नेतृत्वमा विद्याको आगमन र ओलीको बिदाइको पक्षमा मुखर रूपमा प्रस्तुत हुँदै आएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल केन्द्रीय कमिटीको पछिल्लो निर्णयबारे मौन बसेका छन् । विद्यालाई पार्टी राजनीतिमा नफर्काउने केन्द्रीय कमिटीको निर्णयमा उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे तथा स्थायी समिति सदस्य कर्णबहादुर थापाले असहमति राख्दा उनी भने मौन बसे ।
तर, विद्यानिकट एक नेताले भने पोखरेल पुरानै अडानमा कायम रहेको बताए । ‘उहाँ पुरानै अडानमा हुनुहुन्छ । मंगलबार मध्यरातमा हुलमुलमा निर्णय हुँदाहुँदै अचानक बैठक समापन भनिएकाले मात्र उहाँले बोल्न खोज्दाखोज्दै पनि बोल्न पाउने अवस्था नबनेको हो,’ ती नेताले भने, ‘यो कुरा उहाँले पूर्वराष्ट्रपतिलाई टेलिफोन गरेर जानकारी गराउनुभएको छ ।’
केन्द्रीय कमिटीबाट कार्यकारी पदमा ७० वर्ष उमेरहद र कार्यकालको अवधि गणना नहुने विधान मस्यौदा पारित भएपछि ७२ वर्षीय पोखरेलले चाहेको अवस्थामा नेतृत्वका लागि ओलीसँग प्रतिस्पर्धा गर्ने ढोका खुलेको छ । अहिलेका लागि विद्याको ढोका बन्द भएकाले पोखरेल उनको टिमबाट अध्यक्षको विकल्प हुन सक्नेछन् । तर, उनले यसबारे अहिलेसम्म मुख खोलेका छैनन् ।
साभार नयापत्रिका