झडपमा एकको हत्या र ४८ घाइते भएको १२ घण्टापछि गृहमन्त्री लेखकको निर्देशन– अप्रिय घटना हुन नदिनू
काठमाँडो-
मानव अधिकार आयोगले सम्भावित घटानाबारे पाँच दिनअघि नै सचेत गराएको थियो । तर, गृह मन्त्रालयले आयोगले देखाएको संवेदनशीलताप्रति मात्रै आँखा चिम्लिएन, घटना भइसक्दा पनि १२ घण्टापछि मात्रै चासो देखायो । शुक्रबार राति ११ बजेदेखि सुरु भएको झडप करिब २ बजेसम्म थियो । गृहमन्त्री रमेश लेखकले भने कारागारको स्थिति नियन्त्रणबाहिर पुगिसकेपछि मात्रै सक्रियता देखाए ।
लेखकले शनिबार दिउँसो कारागार व्यवस्थापन विभाग प्रमुख नारायणप्रसाद भट्टराई, नेपाल प्रहरीका आइजिपी दीपक थापालगायत निकायका उच्च अधिकारीसँग बैठक राखे । उनले कारागारमा भएको झडपबारे रिपोर्टिङ लिए । त्यसलगत्तै स्थिति नियन्त्रणमा लिन विभाग प्रमुख भट्टराई र आइजिपी थापालाई निर्देशन दिएका थिए । ‘गृहमन्त्रीले कैलाली कारागारको घटनालाई गम्भीरतापूर्वक लिनुभएको छ । कारागारमा पूर्ण सुरक्षा मिलाउन र अप्रिय घटना हुन नदिन निर्देशन भएको छ,’ गृहप्रवक्ता आनन्द काफ्लेले भने ।