चन्द्रौटामा डिएसपी खटाउन माग
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–७ का युवा समाजसेवी अवधेश छिपीले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) उमा प्रसाद चतुर्बेदीसँग भेट गरी वडा प्रहरी कार्यालय चन्द्रौटामा डिएसपी स्तरको प्रहरी अधिकारी खटाउन माग गरेका छन् ।
छिपीले भेटका क्रममा शिवराज नगरपालिकामा सुरक्षाको प्रभावकारी व्यवस्था कायम गर्नका लागि दंगा प्रहरी गण स्थापना गर्न पनि माग गरेका थिए ।
मागका विषयमा प्रतिक्रिया दिँदै एआइजी चतुर्बेदीले डिएसपी जनशक्ति उपलब्धताको अवस्था हेरेर चन्द्रौटामा डिएसपी परिचालन गर्ने आश्वासन दिनुभयो ।
उहाँले थप्दै, “यदि शिवराज नगरपालिकाले दंगा प्रहरी गणका लागि आवश्यक जग्गा उपलब्ध गराएमा गण स्थापना गर्न सकिन्छ,” भन्ने जानकारी दिनुभयो ।
शान्ति सुरक्षा सुदृढ गर्न स्थानीय युवा समाजसेवीको यो पहललाई स्थानीयवासीले स्वागत गरेका छन् ।