कांग्रेस नेतामाथि कारबाही सिफारिस : एमाले उम्मेदवारसँग गोप्य भेटपछि विवाद
न्युज सेन्टरनेपाल-
कपिलवस्तु- कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ का केही नेपाली कांग्रेस नेताहरू एमाले उम्मेदवार विरेन्द्र कुमार कनौडियासँग गोप्य भेटघाट गरेको भिडियो सार्वजनिक भएपछि पार्टीभित्र विवाद चुलिएको छ ।
उक्त घटनापछि सम्बन्धित नेतामाथि कारबाहीको सिफारिस गरिएको नेपाली कांग्रेस कपिलवस्तु ३ का उपसभापति गोविन्द केसीले जानकारी दिनुभयो ।
फागुन १८ गते सोमबारका दिन कृष्णनगरस्थित कांग्रेस नेता तथा समानुपातिक बन्द सूचीमा नाम समावेश भएका अकिल मियाँको घरमा गोप्य बैठक बसेको थियो ।
हेर्नुस भिडियो
https://www.facebook.com/share/v/18F9qfSC14/
उक्त बैठकमा एमाले उम्मेदवार विरेन्द्र कुमार कनौडियासँग छलफल भएको र भेटघाटपछि बाहिरिँदै गरेको दृश्य भिडियोमा देखिएको बताइएको छ ।
भिडियो सार्वजनिक भएपछि पार्टीभित्र ती नेतामाथि अनुशासनात्मक कारबाहीको माग उठेको थियो । सोही विषयलाई लिएर नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, कपिलवस्तु क्षेत्र नं. ३ का तर्फबाट जिल्ला अनुशासन समितिलाई कारबाही सिफारिस गरिएको पत्र बाहिरिएको छ ।
पत्रमा प्रतिनिधि सभा सदस्य निर्वाचनको समयमा पार्टीका आधिकारिक उम्मेदवार अभिषेक प्रताप शाहलाई हराउने उद्देश्यले विपक्षी दलका उम्मेदवारसँग गोप्य भेटघाट गरिएको आरोप लगाइएको छ ।
यसलाई पार्टीको विधानविपरीत गतिविधि भन्दै संलग्न व्यक्तिहरूमाथि आवश्यक कारबाही गर्न सिफारिस गरिएको उल्लेख छ ।
कारबाही सिफारिसमा नाम उल्लेख गरिएका नेताहरूमा
१) क्षेत्रीय सभापति ब्रह्मानन्द उपाध्याय
२)महासमिति सदस्य अकिल मियाँ
३)क्षेत्र नं. ३ (ख) का सभापति मुक्तेश्वर मिश्र
४) क्षेत्रीय सचिव राजेश उपाध्याय
५) कृष्णनगर नगर सभापति विनय गिरी
६)वडा सभापति विजय पाण्डे
लगायत रहेका छन्।
उक्त पत्र नेपाली कांग्रेस क्षेत्र नं. ३ का उपसभापति गोविन्द बहादुर खत्रीले जिल्ला अनुशासन समितिलाई पठाएको देखिन्छ ।
पत्रमा भिडियो फुटेजका आधारमा संलग्न व्यक्तिहरूमाथि कांग्रेसको विधानअनुसार आवश्यक कारबाही गर्न सिफारिस गरिएको उल्लेख छ।
यस विषयमा सम्बन्धित नेताहरूले भने हालसम्म सार्वजनिक रूपमा प्रतिक्रिया दिएका छैनन् । भिडियो सार्वजनिक भएसँगै कपिलवस्तु क्षेत्र नं. ३ को राजनीतिक माहोल थप तातिएको छ ।
हेर्नुस कार्वाही सिफारिस पत्र ।
