कपिलवस्तुको शिवपुरमा व्यक्तिको प्लाटिङ्गमा सरकारको लगानी
न्युजसेन्टर नेपाल-
कपिलवस्तुको शिवराज नगरपालिका–१ शिवपुर कलौनी नजिकै निजी प्लाटिङ्ग क्षेत्रमा सरकारी बजेटबाट पक्की नाली निर्माण भइरहेको तथ्य बाहिरिएपछि स्थानीयस्तरमा तीव्र विरोध सुरु भएको छ ।
लुम्बिनी प्रदेश सरकार अन्तर्गत सहरी विकास मन्त्रालयको करिब रु १० लाख बजेटमा अहिले बस्ती नै नभएको खाली जमिन क्षेत्रमा धमाधम पक्की नाली निर्माण भइरहेको स्थानीयले बताएका छन् । सडक डिभिजन कार्यालय नजिकै बनकट्टा जाने सडक छेउमा ठेक्का प्रक्रियामार्फत करिब ९० मिटर नाली निर्माण भइरहेको देखिएको छ।
स्थानीयको भन्छन “जहाँ नागरिक नै बस्दैनन्, घर छैनन्, पानी निकासको समस्या छैन, त्यहाँ किन राज्यको बजेट खन्याइँदैछ ?”
स्थानीयवासीका अनुसार उक्त क्षेत्र मुख्यतः निजी प्लाटिङ्ग गरिएको जमिन हो । अहिले नाली निर्माण भएपछि ती प्लाटिङ्गको मूल्य अस्वाभाविक रूपमा बढ्ने र प्रत्यक्ष लाभ केही सीमित व्यक्तिले मात्रै लिने अवस्था देखिएको छ ।
वास्तविक आवश्यकता भए का बस्ती, गाउँ र सडक वर्षौंदेखि नाली तथा पूर्वाधारको अभावमा पीडित भइरहेका बेला सुनसान प्लाटिङ्ग क्षेत्रमा बजेट खन्याउनु गम्भीर अनियमितता भएको बताएका छन् ।
एक स्थानीयले आक्रोश पोख्दै भने,“जनता भएको ठाउँमा न सडक छ, न नाली। तर खाली जग्गाको मूल्य बढाउन सरकारी पैसा हालिएको छ। यो विकास होइन, सेटिङ हो।”