गाउँपालिका अध्यक्ष चौधरी बुटवलबाट पक्राउ
न्यूज सेन्टर नेपाल, कपिलवस्तु– बलात्कार पीडित युवतीको गोपनीयता भंग गरेको अभियोगमा फरार रहेका शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीलाई बुटवलबाट प्रहरीले पक्राउ गरेको छ ।
रूपन्देही जिल्ला अदालतले जेठ १ गते चौधरीलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय बुटवललाई आदेश दिएको थियो । ५ दिनसम्म फरार रहेका चौधरीलाई अन्ततः प्रहरीले मंगलबार पक्राउ गर्न सफल भएको हो ।
चौधरीमाथि बलात्कार पीडित युवती र उनको परिवारको नाम, ठेगाना र अन्य व्यक्तिगत विवरणहरू सार्वजनिक गर्दै उनीहरूको गोपनीयता उल्लंघन गरेको गम्भीर आरोप लागेको छ ।
यस कार्यले पीडितलाई सामाजिक रूपमा दोहोरो पीडामा पार्नुका साथै संविधान प्रदत्त अधिकारको उल्लंघन भएको अधिकारकर्मीहरू बताउँछन् ।
स्थानीय स्रोतका अनुसार चौधरीले आफू निकट प्रभावशाली राजनीतिक व्यक्तिहरूको सहयोगमा गिरफ्तारीबाट बच्न प्रयास गरिरहेका थिए । प्रहरीले प्रारम्भमा खोजीमा शिथिलता देखाएको आरोप पनि लागेको थियो ।
मानव अधिकारकर्मी माया वलीले भनिन्, “कानुन सबैका लागि समान हो भने पदमा बसेको व्यक्तिले लुक्न पाउनु हुँदैन । चौधरी पक्राउ परिनुले कानुनी प्रक्रियामा विश्वास कायम गर्न सहयोग गर्छ ।”
हाल चौधरीलाई बुटवलमा राखिएको छ र साइबर अपराधसम्बन्धी अर्को मुद्दामा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई अदालतमा पेश गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।