लुम्बिनी प्रदेशले कपिलवस्तुलाई विभेद गरेको कांग्रेसको आरोप
कपिलवस्तु- लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरेको वार्षिक कार्यक्रम तथा बजेटमा कपिलवस्तु जिल्लालाई विभेदपूर्ण व्यवहार गरेको भन्दै नेपाली कांग्रेस जिल्ला कार्य समिति, कपिलवस्तुले आपत्ति जनाएको छ ।
जिल्ला सभापति अब्दुल कलामद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रदेश सरकारले जिल्लाको मागअनुसारको विकास योजना समावेश नगरेको र मन्त्रिहरूका जिल्लामा मात्र योजना केन्द्रित गरिएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा कपिलवस्तु जिल्लाका लागि प्रस्तावित योजनाहरू न्यून रहेको, जनताको भावना विपरीत बजेट विभाजन गरिएको र जिल्लाको समग्र विकास योजनालाई बेवास्ता गरिएको आरोप लगाइएको छ।
साथै, विज्ञप्तिमा कांग्रेस कपिलवस्तुका तर्फबाट प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने सबै मन्त्रीहरूले कपिलवस्तुको माग सम्बोधन नगरेको भन्दै अब पार्टीको कुनै पनि कार्यक्रम वा कार्यक्रममा सहयोग नगर्ने निर्णय गरिएको स्पष्ट गरिएको छ।