अर्थमन्त्री पौडेल रसुवाको बाढी प्रभावित क्षेत्र जाँदै
काठमाडौं –
चीनतर्फबाट आएको बाढीका कारण रसुवागढीमा पुगेको क्षतिको स्थलगत निरीक्षण गर्न अर्थमन्त्री विष्णु पौडेल त्यसतर्फ जाने भएका छन् ।अर्थमन्त्री पौडेल अर्थसचिव घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक महेश भट्टराईसहित रसुवा जान लागेका हुन् ।हेलिकोप्टर व्यवस्थापनका लागि अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेखेको छ । गएराति रसुवामा बाढी आउँदा कम्तिमा १८ जना बेपत्ता छन्, २ जनाको शव भेटिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले ९ जनाको उद्दार गरेका छन् ।
चीनतर्फ आएको बाढीले रसुवामा क्षति पुर्याएका बेला प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल र नेपाल प्रहरीका प्रमुख डीएसपी हेम शाही भने काठमाडौंमा थिए ।गृह मन्त्रालयले आयोजना गरेको बागमती प्रदेश स्तरीय सुरक्षा गोष्ठीका लागि उनीहरु काठमाडौं आएका थिए । गृह स्रोतका अनुसार, राति बाढीको खबर आएलगत्तै प्रमुख जिल्ला अधिकारी र डीएसपीलाई जिल्लातर्फ जान सहजीकरण गरिएको छ ।सोही कार्यक्रमका लागि गृहमन्त्री रमेश लेखक पनि धुलिखेल पुगेका थिए ।