काठमाडौं-
रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कमा आएका छन् । बिहीबार बिहान सम्पर्कविहीन भएका कर्मचारी गुल्मीबाट सम्पर्कमा आएका हुन् ।गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढामगरका अनुसार नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै कर्मचारीको टोली रोल्पाको थबाङबाट हिँडेको थियो । तर, बुधबार बेलुकासम्म पटकपटक सम्पर्क गर्दा पनि फोन स्वीच अफ भएपछि कर्मचारी हराएको सूचना निकाल्न गाउँपालिका बाध्य भएको थियो ।
सबैतिर हल्लाखल्ला भएपछि बिहीबार बिहान हराएका कर्मचारी टोली सम्पर्कमा आएको थबाङ गाउँपालिका अध्यक्ष बुढामगरले अनलाइनखबरलाई बताए । ‘उहाँहरु गुल्मीमा हुनुहुँदो रहेछ । आज बिहान सम्पर्कमा आउनुभयो । अब आजै जिल्ला सदरमुकाम लिबाङ आएर त्यसपछि थबाङ आउँछौँ भन्नुभएको छ,’ अध्यक्षले मगरले भने ।
आर्थिक वर्षको अन्तिममा प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरसहितका कर्मचारीहरू सम्पर्कमा नआएपछि गाउँपालिकाले सूचना नै निकालेको थियो । ‘प्रमुख प्रशासकीय अधिकृत लगायत आर्थिक प्रशासन प्रमुख, सव-इन्जिनियर, प्रशासन शाखा प्रमुख, खा.पा.स.टे. र सवारी चालकहसहित ७ जना मिति २०८२ असार २४ गते बिहान ७ बजेदेखि आजको मिति २०८२ असार २५ गतेसम्म कार्यालयको सम्पर्कमा नआएको,’ सूचनामा भनिएको थियो ।
यसरी सम्पर्कविहीन भएरै हिँड्नुपर्ने गरी आफूहरुसँग कुनै लफडा नभएको अध्यक्ष बुढाले बताए । उनकाअनुसार प्रमुख प्रशासकीय अधिकृतले २३ गते बेलुका कार्यलयबाट घर निस्कनेबेला आफूले केही समस्या छ भनेर सोध्दा बाहिर गएर काम गर्नुपर्ने भयो भनेर अनुमति मागेको बताए । ‘जहाँ बसेर काम गरेपनि काम हुनु न हो । क्लोजिङको काम राम्रोसँग सकिए जहाँबाट गरेपनि के हुन्छ र ? भनेँ । किन सम्पर्कमा आउनुभएन मैले बुझिनँ,’ उनले भने ।‘उसोभए क्लोजिङको काम के भयो त ? समय त घर्कियो,’ भन्ने अनलाइनखबरको प्रश्नमा मगरले आफू यसबारे अनविज्ञ रहेको बताए । ‘सबै कर्मचारी उहाँहरुसँगै हुनुहुन्थ्यो । अब भयो होला भन्ने अपेक्षा गरौं,’ उनले थपे ।
प्रमुख प्रशासकीय अधिकृत भन्छन्– पछि कुरा गरौंला
कार्यालयको भुक्तानीका लागि आवश्यक पर्ने ओटीपी कोड थबाङमा नचलेको भन्दै प्रमुख प्रशासकीय अधिकृतको टोली रुकुम पूर्व गएर काम गर्ने भन्दै हिँडेको थियो । तर उनीहरु गुल्मी पुगेको पाइएको छ । जहाँ रहे पनि कर्मचारीले जिम्मेवारी निर्वाह गरेको अनुमान गाउँपालिका अध्यक्ष बुढामगरको छ । यदि त्यस्तो नभए थप अनुसन्धानको विषय हुने उनले बताए ।प्रमुख प्रशासकीय अधिकृत घर्तीमगर भने यसबारे बोल्न चाहेनन् । अनलाइनखबरसँग टेलिफोन सम्पर्कमा आएका उनले भने, ‘म गाडीमा छु । पछि कुरा गरौंला है ।’
रोल्पा प्रशासन भन्छ– भुक्तानीको समस्या रहेको बुझिएको छ
जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रशासकीय अधिकृत पदमबहादुर डाँगीका अनुसार थबाङका प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीको टोली सम्पर्कविहीन भएको जानकारी सबैभन्दा पहिले जिल्ला समन्वय समितिले दिएको थियो । लगत्तै जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी प्रमुखलाई खोजीमा खटिन भनेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयले थबाङ गाउँपालिका र आसपासका क्षेत्रमा प्रहरीको तैनाथी बढाएको थियो ।त्यसपछि बल्ल थबाङ गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढामगरले कर्मचारीको टोली सम्पर्कविहीन भएको विज्ञप्ति सार्वजनिक गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रशासकीय अधिकृत पदमबहादुर डाँगीले भने, ‘हामीले थबाङ गाउँपालिकाभन्दा पहिले जिल्ला समन्वय समितिबाट कर्मचारी टोली सम्पर्कविहीन भएको थाहा पायौं । त्यसपछि सोधखोज गर्दा भुक्तानीको समस्या थियो भन्ने प्रारम्भिक जानकारी छ । यसबारे विस्तृत बुझ्ने काम भइरहेको छ ।’प्रमुख प्रशासकीय अधिकृत घर्तीमगरलाई पनि टेलिफोन सम्पर्क गरेर सोध्दा ‘हामी गुल्मीबाट फर्किंदै छौं, त्यहीँ आएर सबै कुरा गरौंला’ भनेको डाँगीले जानकारी दिए ।उनले भने, ‘उहाँहरु फर्किसकेपछि जनप्रतिनिधि र कर्मचारी टोलीलाई सँगै राखेर बुझ्छौं ।’
गाउँपालिका महासंघ भन्छ– यो गम्भीर घटना हो, बुझ्दै छौं
गाउँपालिका राष्ट्रिय महासंघले आर्थिक वर्षको अन्तिम दिन कर्मचारीहरु सम्पर्कविहीन हुनुलाई ‘गम्भिर घटना’ भनेको छ ।महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले अनलाइनखबरसँगको कुराकानीमा भनिन्, ‘आर्थिक वर्षको अन्तिम दिन जनप्रतिनिधि र कर्मचारी मिलेर काम गर्नुपर्छ । म आफैं राति १ बजे घर फर्किएकी हुँ । तर थबाङमा कर्मचारी सम्पर्कविहीन हुनु गम्भिर घटना हो ।’उनले यसबारे गाउँपालिका महासंघले थप ‘बुझ्ने’ बताइन् ।
‘म हिजो राति काममा व्यस्त थिएँ । त्यहीबेला थबाङका कर्मचारीहरु सम्पर्कविहीन भएको भन्ने थाहा पाएँ । अनि थबाङका गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई फोन गरें । उहाँहरुको फोन नउठेपछि सीडीओसाबलाई फोन गरें । सीडीओसाबले कर्मचारीहरु गुल्मीबाट सम्पर्कमा आएको जानकारी गराएपछि सुरक्षित रहेछन् भनेर ढुक्क भएँ । तर यो सामान्य कुरा होइन । महासंघले यसबारे विस्तृतमा बुझ्ने छ ।’
स्थानीय भन्छन्– शंकास्पद
यसरी कर्मचारी सम्पर्कविहीन हुनुलाई स्थानीयले शंकास्पद मानेका छन् ।थबाङ गाउँपालिका वडा नम्बर २ का पूर्ववडाध्यक्ष समेत रहेका बसन्त रोकामगरले ठेक्कापट्टामा ‘बार्गेनिङ’ नमिलेपछि कर्मचारीको टोली नै सम्पर्कमा नआएको भन्दै उनीहरुविरुद्ध मुद्दा हाल्ने बताए ।
‘क्लोजिङको समय थियो । राति दुई–तीन बजेसम्म पनि बसेर ठेकेदारलाई भुक्तानी दिइएको भन्ने छ । यही अवस्थामा उहाँहरु बार्गेनिङको लागि भाग्नुभयो भन्ने हामीले बुझेका छौं । अब स्थानीय सबै मिलेर मुद्दा हाल्छौं,’ उनले भने ।