राप्ती र बबाई नदिका जोखिमयुक्त स्थानहरूमा सुरक्षाकर्मीहरू परिचालन गर्न कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन
काठमाडौं –
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राप्ती र बबई नदीमा जलस्तरले खतराको तह पार गरेको भन्दै जोखिमयुक्त स्थानहरूमा सुरक्षाकर्मीहरू परिचालन गर्न निर्देशन दिएका छन्।
नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको र भेरी र बबई नदीमा जलस्तर खतराको तह भन्दा माथि गएकाले जनधनको क्षति हुन नदिन सुरक्षाकर्मीहरू परिचालन गर्न निर्देशन दिएका हुन्।
कार्यवाहक प्रधानमन्त्री सिंहको भनाइ उद्धृत गर्दै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले बबई र भेरीमा जलस्तरले खतराको तह पार गरेको अवस्थामा त्यहाँको स्थितिबारे जानकारी लिनुभएको बताए।
उनले जनधनको क्षति हुन नदिन समयमै शतर्कता अपनाइ सुरक्षाकर्मीहरू जोखिमयुक्त स्थानमा तैनाथ गर्न निर्देशन दिएको बताए। साथै मंगलवार (आज) महाकाली र कर्णालीमा पनि जलस्तर बढ्ने पूर्वानुमान रहेकाले त्यहाँ पनि सचेत हुन आग्रह गरेका छन्।
कार्यकारी प्रमुख भट्टकाअनुसार कार्यवाहक प्रधानमन्त्री सिंहले मधेस प्रदेशमा वर्षाको अवस्थाबारे पनि चासो लिएका छन्। सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले त्यहाँको वस्तुस्थिति बारेमा पनि कार्यवाहक प्रधानमन्त्री सिंहलाई जानकारी गराएका छन्।