समानुपातिक उम्मेदवार छान्न कांग्रेस-एमालेको बैठक आज
काठमाडौं –
राजनीतिक दलहरु आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची तयार गर्न लागि परेका छन्।आज र भोलिभित्रमा आयोगमा सूची बुझाउनु पर्ने भएपछि दलहरु आन्तरिक छलफलमा जुटेका हुन्। ४ दिनदेखि जारी नेपाली कांग्रेसले उम्मेदवार चयनका लागि आज पनि केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ। बैठक बिहान ११ बजे सानेपामा सुरु हुनेछ । कांग्रेसले पुसको पहिलो हप्ताभित्र सबै जिल्लाबाट उम्मेदवार सिफारिस गरिसकेको छ।
हिजो बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले मापदण्ड तय गरेर काम सुरु गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए।
जारी केन्द्रीय कार्य सम्पादन समिति बैठकमा महाधिवेशनको कार्यतालिकाबारे छलफल भए पनि आज र भोलि उम्मेदवार छनोटमा केन्द्रित हुने बताइएको छ। उम्मेदवार छनोटका लागि कांग्रेसले यसअघि संसदीय समिति बनाउने गरे पनि यसपटक बनाएको छैन।
यस्तै नेकपा एमालेले पनि आज सचिवालय बैठक बोलाएको छ। बिहान ११ बजे च्यासलमा बस्ने बैठकमा प्रतिनिधिसभा निर्वाचनको तयारी र समानुपाति उम्मेदवार चयनबारे छलफल हुने पार्टी सचिव राजन भट्टराईले बताए। निर्वाचनमा जानेबारे औपचारिक निर्णय गरिनसके पनि नेकपा एमाले भित्रि तयारीमा जुटेको छ। हिजो प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको छलफलमा सहभागी भएका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु निर्वाचनबाट नभाग्ने तर निर्वाचनका लागि आवश्यक वातावरण बनाउने जिम्मा सरकारको भएको ध्यानाकर्षण गराएका थिए।