कांग्रेसको बन्दसूचीमा १३ जिल्ला प्रतिनिधित्व विहिन
काठमाडौं–
नेपाली कांग्रेसको प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीमा १३ जिल्लाको प्रतिनिधित्व नभएको पाइएको छ । कांग्रेसले मंगलबार निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा ६४ जिल्लाको मात्रै प्रतिनिधित्व छ ।बन्दसूचीमा समावेश नामअनुसार सबैभन्दा बढी बागमती प्रदेशका चार जिल्लाबाट कसैलाई पनि उम्मेदवार बनाइएको छैन । यस्तै कोशी र गण्डकी प्रदेशबाट तीन(तीन, लुम्बिनीका दुई तथा कर्णालीको एक जिल्लाले कांग्रेसको बन्दसूचीमा स्थान पाएको छैन ।
कांग्रेसले बागमतीका ललितपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र चितवन, कोशीका धनकुटा, ओखलढुंगा र खोटाङ, गण्डकीका मनाङ, म्याग्दी र लमजुङ, लुम्बिनीका पूवी रूकुम र प्युठान तथा कर्णालीको जुम्लाबाट कसैलाई पनि समानुपातिकतर्फको उम्मेदवार बनाएको छैन ।कांग्रेसको बन्दसूचीमा मधेश र सुदूरपश्चिम प्रदेशबाट भने सबै जिल्लाको प्रतिनिधित्व भएको देखिन्छ ।
मधेश प्रदेशको धनुषा जिल्लाबाट ६ जना, बाराबाट तीन, सप्तरीबाट तीन, महोत्तरीबाट दुई, रौतहटबाट दुई, सर्लाही, सिरहा र पर्साबाट एक–एक जना कांग्रेसको बन्दसूचीमा परेका छन् ।बन्दसूचीमा धनुषाबाट सिफारिसमा परेका डा। चन्द्रमोहन यादवको नाम दोहोरिएको देखिन्छ । उनी प्रथम राष्ट्रपति डा। रामवरण यादवका छोरा हुन् ।सुदूरपश्चिमका नौ जिल्लामध्ये कैलाली र कञ्चनपुरमा दुई–दुई जना बन्दसूचीमा पर्दा कांग्रेसले बाँकी सात जिल्लाबाट एक–एक जनाको प्रतिनिधित्व गराएको छ ।
कांग्रेसको बन्दसूचीमा कैलालीका यज्ञनिधि कोइराला र रिताकुमारी चौधरी, कञ्चनपुरका तौला राना र कल्पना केसीको नाम सिफारिस भएको छ ।यस्तै सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराबाट हरिना कामी, प्रदेश सभापति वीरबहादुर बलाययरको गृहजिल्ला डोटीबाट प्रसिस महरा, सहमहामन्त्री बद्री पाण्डेको गृहजिल्ला बाजुराबाट विद्यादेवी तिमिल्सिनाको नाम बन्दसूचीमा छ ।दार्चुलाका करवीरसिंह कार्की, बैतडीका दीपेन्द्रबहादुर बम, अछामका टेकबहादुर विक र बझाङका सुन्दर स्नेहीको पनि नाम बन्दसूचीमा समावेश छ ।