अनिरुद्ध माविमा अवैध असुली, सम्बन्धित निकाय मौन
न्युजसेन्टर नेपाल-
नेपाल सरकारले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गरेको भए तापनि कपिलवस्तुको एक सामुदायिक विद्यालयले विद्यार्थीहरूसँग अनियमित रूपमा अवैध शुल्क असुली गरेको पाइएको छ ।
जिल्लाको यशोधरा गाउँपालिका वडा नं. ५ स्थित अनिरुद्ध पब्लिक माध्यमिक विद्यालयले विद्यार्थीहरूसँग टिसि सहायता, भर्ना सहायता, अभिभावक सहयताको बहनामा विभिन्न शुल्क असुली गरेको देखिएको हो ।
विद्यालयले शैक्षिक सत्र २०८३ को सुरुवाती महिनामै अभिभावक सहायता भन्दै वैशाख ११ गते नै पाँच हजारको रसिद काटेको छ । त्यस्तै विद्यालयले एक विद्यार्थीसँग अभिभावक सहायता भन्दै ८ सय को रसिद वैशाख १५ गते काटेको छ । विद्यालय प्रशासनले टिसी सहायताको नाममा ११ हजार ५ सयको रसिद समेत काटेको छ ।

यसरी विद्यालयका प्रधानाध्यापक रमेश कुमार पाण्डेले अभिभावकलाई अनावश्यक रुपमा दबाब दिई अभिभावक सहायता शुल्क उठाउँदै आएको स्थानीय अभिभावकहरुले गुनासो गरेका छन ।
स्थानीय शिव बालकले समाजिक सञ्जालमा ४६ हजार २ सय ९० रुपैयाँ बुझाएको रसिद नै पोस्ट गर्नु भएको छ ।
‘नेपालको संविधान, २०७२’को धारा ३१ को उपधारा ९२० अनुसार, प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ। ‘अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी नियमावली, २०७७’ को धारा ५का अनुसार, सार्वजनिक विद्यालयले माध्यमिक तहसम्मका विद्यार्थीहरूबाट कुनै पनि शीर्षकमा शुल्क असुल्न नपाइने कानुनी व्यवस्था छ।
उक्त नियमावली अनुसार कुनै पनि सार्वजनिक विद्यालयले माध्यमिक तह सम्मको शिक्षामा विद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तक बापतको रकम शीर्षकमा शुल्क लिनु हुँदैन ।
विद्यालय प्रशासनले व्यक्तिगत स्वार्थका लागी कानुन विपरीत पैसा असुलेर अभिभावकलाई आर्थिक भार थोपरेको स्थानिय सन्देश तिवारीले बताउनु भयो ।
विद्यार्थीहरूबाट असुल गरिएको सो रकम तत्काल फिर्ता गराइ त्यस्तो अवैध असुली र बाँडफाँडमा संलग्नलाई कानुनी कारबाही हुनुपर्ने अभिभावक तिवारीको माग छ ।
यस सन्दर्भमा विद्यालयका प्रधानाध्यापक रमेश कुमार पाण्डेसँग कुराकानी गर्न खोज्दा उहाँले कुनै पनि प्रतिक्रिया व्यक्त नगर्ने बताउनुभयो ।
तपाईँलेले अभिभावकसँग अवैध रसिद छापेर रकम असुल्नु भएको छ भन्ने प्रश्नमा उहाँले कुनै प्रतिक्रिया दिनुभएन ।
केही जानकारी आवश्यक परे विद्यालयमा सम्पर्क गर्नुस भन्दै आक्रोशित हुदै फोन काटिदिए ।
यशोधरा गाउँपालिका शिक्षा शाखा प्रमुख राजु सेजुवालले कुनैपनी सामुदायिक विद्यालयका विद्यार्थीहरूबाट शुल्क लिनु गैर कानुनी भएको बताउनुभयो । यति बिद्यालयले अवैध रकम लिइसकेको भए उक्त रकम फिर्ता गर्न निर्देशन दिने बताउनुभयो ।
सोही विद्यालयमा ७ लाख घोटाला भएको समाचार न्युज सेन्टर नेपालले यही वैशाख २३ गते प्रकाशित गरेको थियो । समाचारको लिंक तल रहेको छ ।