टिप्परसहित अवैध सालको गोलिया काठ बरामद, तस्कर फरार
सनिउल्ला धोबी–
कपिलवस्तुको इलाका प्रहरी कार्यालय गणेशपुरले अवैध रूपमा ओसरपसार हुँदै गरेको सालको गोलिया काठसहित एउटा टिप्पर नियन्त्रणमा लिएको छ ।
गणेशपुरका प्रहरी निरीक्षक महेश कुमार आर्चयाको कमान्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा जवाबैराठ जंगल क्षेत्रबाट काठ ल्याइँदै गरेको अवस्थामा लु २ ख २६२८ नम्बरको टिप्पर नियन्त्रणमा लिएको हो ।
टिप्परमा ठूलो परिमाणमा सालको गोलिया काठ लोड गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जंगल क्षेत्रबाट अवैध रूपमा काठ तस्करी भइरहेको सूचनापछि चेकजाँचलाई कडाइ गरिएको थियो । सोही क्रममा प्रहरी टोलीले टिप्परलाई रोकी जाँच गर्दा अवैध काठ बरामद भएको हो ।
प्रहरीलाई देखेपछि टिप्परमा रहेका तस्कर समूह टिप्पर छोडेर फरार भएका थिए । फरार व्यक्तिहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको काठ र टिप्परलाई नियन्त्रणमा राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।