ट्राफिक प्रमुख ढकाल उत्कृष्ट ट्राफिक प्रहरी घोषित
न्युज सेन्टर नेपाल-
जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिङ्गे कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकाल २०८३ साल असार महिनाका लागि ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ (Best Traffic Police of the Month)’ घोषित भएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले लुम्बिनी प्रदेशभर कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूमध्ये उत्कृष्ट कार्यसम्पादनको आधारमा प्रहरी निरीक्षक ढकाललाई असार महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषणा गरेको हो ।
कार्यालयका अनुसार संगठनात्मक नीति तथा निर्देशनबमोजिम आफ्नो पेशागत जिम्मेवारी र पदीय दायित्वलाई पूर्ण व्यवसायिकताका साथ निर्वाह गर्दै ढकालको नेतृत्वमा कपिलवस्तुमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनेको छ ।
जेठ महिनाको तुलनामा असार महिनामा सवारी दुर्घटना, घाइते तथा दुर्घटनाबाट हुने मृत्युको संख्यामा उल्लेखनीय कमी आएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले लुम्बिनीले जनाएको छ
।
असार महिनाभर २०१ वटा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरी १३ हजार ७ सय ३५ जना आमनागरिक, चालक, सहचालक तथा सवारीधनीलाई प्रत्यक्ष रूपमा लाभान्वित गरिएको थियो ।
त्यस्तै ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार १ सय १६ वटा सवारीसाधनमाथि कारबाही गरिएको तथा क्षमताभन्दा बढी भार बोकेका ६ सय ४२ वटा सवारीसाधनलाई कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको थियो ।
यस्तै, नियमित मापसे (मादक पदार्थ सेवन) परीक्षणका क्रममा मापसे गरी सवारी चलाएका ३ जना चालकलाई आवश्यक कानुनी कारबाहीका लागि पठाइएको थियो ।
जिल्लाभरका ट्राफिक प्रहरीहरूको चुस्त परिचालन, नियन्त्रण तथा समग्र कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले प्रहरी निरीक्षक राजन ढकाललाई २०८३ साल असार महिनाको ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ घोषणा गरेको जनाएको छ ।
