Connect with us
Kapilvast Forest

महरालाई बाबुरामकाे खुलापत्र: प्रायश्चित गर्नुस्, अनुसन्धानमा सघाउनुस्

२०७६, १८ आश्विन शनिबारमा प्रकाशित

प्रिय महराजी,

           हालैको तपाईं सम्बन्धित घटनाले सम्पूर्ण देश र केही हदसम्म अन्तर्राष्ट्रीय जगत पनि तरंगित त छँदैछ म ब्यक्तिगत रूपमा समेत अत्यन्त मर्माहत भएको छु! यो तपाईंको मात्र प्रश्न नभएर ऐतिहासिक माओवादी आन्दोलन,हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र हामीले परिकल्पना गरेको महिलामुक्ति तथा उन्नत संस्कृतिको प्रश्नसंग जोडिएको विषय पनि हुनाले यहाँ केही बोल्ने धृष्टता गरेको छु!

१. माओवादी नेतृत्व तहमा हामी ( विशेषत: प्रचण्ड र म ) सुरेश वाग्ले र तपाईंलाई उच्च नैतिकवान् र इमान्दार पात्र मान्थ्यौं ! हामी वीच विवाद पर्दा तपाईं दुइ जनाको कुरालाई हामीले विशेष महत्व दिन्थ्यौं! प्रचण्ड र मेरो वीचमा २०५५-५६ मा पहिलो ठुलो वैचारिक-सांगठनिक वहस हुँदा २०५६ साउन/भदौमा पन्जाबको रोपडमा भएको पोलिटब्युरो बैठकमा तपाईं दुइजनाको सुझाव मानेर हामीले विवाद हल गरेका थियौं! ( दुर्भाग्यवश त्यो बैठक सकेर फर्कने वित्तिकै भदौ २३ गते गोरखामा सुरेश वाग्लेले गौरवपूर्ण सहादत प्राप्त गर्नुभएको थियो!

पछि पोष्टबहादुर बोगटी र तपाईँ पार्टीका आदर्श पात्र मानिन थाल्नुभयो! २०७१सालमा बोगटीजीको दु:खद निधन र पार्टीको क्रमश: ओरालो लाग्दो नैतिक धरातलले आम जनतालाई समेत माओवादी आन्दोलनप्रति वितृष्ण बनाउँदै लग्यो! कांग्रेस-एमाले पहिले नै भ्रष्टाचार र सुरासुन्दरी काण्डले बदनाम भैसकेका थिए! तपाईंको यो पछिल्लो प्रकरण त्यसैले तपाईंको एउटा निजी मामिला मात्र नभएर नेपालको क्रान्तिकारी आन्दोलनको वैचारिक-राजनीतिक र नैतिक संकटको एउटा अत्यन्त नकारात्मक बिम्ब बन्न पुगेको छ।यसलाई तपाईं हामी सबैले स्वीकार्नैपर्छ!

२. माओवादी आन्दोलन यो रसातलको बिन्दुसम्म कसरी पुग्यो ? त्यसको सांगोपांगो विश्लेषण र संश्लेषण छुट्टै गरौंला।हामीले नेपाली क्रान्तिलाई संघीय लोकतान्त्रिक गणतन्त्रको शिखरसम्म पुर्याएकै हो।यसमा हामीले सामुहिक गर्व गर्नुपर्छ! तर रोजा लक्जेम्बर्गले भने झैं क्रान्ति स्थीर भएर बस्दैन; कि त त्यो अघि बढाइनु/बढ्नु पर्छ, नत्र त्यो पछाडि हट्छ।त्यस्तै अर्को भनाइ छ- शिखर चढ्न सजिलो हुन्छ तर त्यहाँ टिक्न गाह्रो हुन्छ! अझै अर्को भनाइ छ- क्रान्ति सम्पन्न भएको भोलिपल्ट हिजोका क्रान्तिकारीहरू प्रन्तिक्रान्तिकारीमा बदलिन्छन्!

यहींनेर हामी चुक्यौं! मैले यो एउटा शिखर चढेपछि अर्को शिखर चढ्न नयाँ बाटो खोजौं भनेको थिएँ। तर मैले साथीहरूलाई मनाउन सकिनँ! साथीहरू पुरानै शिखरमा बसिराख्न खोज्नुभयो तर वैज्ञानिक रूपमा त्यो सम्भव थिएन! त्यसैले अब क्रमश: साथीहरू पुरानो शिखरबाट खुर्मुरिइरहनुभएको छ! तपाईं ( महराजी ) को पछिल्लो प्रकरण त्यसैको एउटा नमूना हो !

३. यो प्रकरणमा तपाईं दोषी हुनुहुन्छ वा हुनुहुन्न म किटेर भन्न सक्दिनँ! सत्य कि तपाईंलाई थाहा छ कि सम्बन्धित महिलालाई थाहा छ! तर अहिलेसम्म बाहिर आएका कुराबाट शंकाको सुई तपाईंतिर सोझिन्छ! हामीले SLC मा पुष्कर शमशेरको “परिबन्द” कथा पढ्थ्यौं! त्यहाँ परिबन्दले निर्दोष व्यक्ति दोषी ठहरिन्छ!

यौन मामिलामा महान् व्यक्तित्वहरू पनि कसरी चुक्छन् भन्नेवारे स्कूलमा पढ्दा गुरूले सुनाएको यो संस्कृत श्लोक सम्झिन्छु:
‘विश्वामित्र परासर प्रभृत्तयो वाताम्बु पर्णाशना।
तेपिस्त्री मुखपंकजं सुललितम् दृष्ट्वैव मोहम् गता।।
साल्यान्नम् सघृतम् पयोदधियुतम् भुन्जन्ति ये मानबा:।
तस्याम् इन्द्रीय निग्रहो यदि भवेत् विन्ध्यस्तरेत् सागरम्।।’

तर प्राकृतिक कारण र ऐतिहासिक उदाहरण दिएर सामाजिक दायित्व बहन गर्ने मान्छेले यौन उच्छृंखलता गर्न मिल्दैन!अझै गम्भीर कुरा त महिलालाई उपभोग्या वस्तुको रूपमा प्रयोग गर्नु र सत्ताशक्ति र धनको वलमा महिलाको अस्मिता हरण र यौनशोषण गर्नु कानूनी दृष्टिले समेत दण्डनीय हुन्छ!

हाम्रो जस्तो पितृसत्तात्मक समाजमा अधिकांश रूपमा महिला नै पीड़ित हुने भए पनि कहिलेकाहिं पुरूष पनि उत्पीडन वा प्रतिशोध/षड्यन्त्रको जालमा पर्नसक्छ। तपाईंको हकमा पनि अन्यथा भएको हुनसक्छ। त्यसनिम्ति पनि तपाईंले सत्यतथ्य बाहिर ल्याएर कानून बमोजिम न्यायको निरूपण गर्न र आफुलाई निर्दोष सावित गर्न स्वतन्त्र र निष्पक्ष अनुसन्धानको माग गर्नुपर्छ र त्यसलाई सघाउनुपर्छ! त्यसले तपाईंको प्रतिष्ठा घटाउने हैन बढाउनेछ!

यदि जानेर वा नजानेर गल्ती वा अपराध भएको हो भने त्यसलाई खुला रूपले स्वीकार्नु र प्रायश्चित्त गर्नु नै तपाईं स्वयम्, क्रान्तिकारी आन्दोलन र देशको हितमा हुनेछ।भनिन्छ- गल्ती गर्नु अपराध हैन; गल्ती नसच्याउनु अपराध हो!

तपाईंको शुभेच्छुक,
बाबुराम

(पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकोे फेसबुकबाट)

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu