चिनियाँ राष्ट्रपति सी चिनफिङको यस्तो छ सुरक्षा व्यवस्था
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणलाई ध्यानमा राखी सेनाका सहायक रथीको नेतृत्वमा सुरक्षा टोली खटाइएको छ।
सरकारले अतिविशिष्ट सुरक्षाका लागि विश्वभरि दिइने सुरक्षा विधि अपनाएको छ। गृह मन्त्रालयका अनुसार सुरक्षा व्यवस्थाका लागि आवश्यक तयारी भइसकेको छ। स्रोतका अनुसार शुक्रबार काठमाडौं आइपुगेका तीनवटा बुलेट प्रुफ गाडीमध्ये एउटा राष्ट्रपति र दुईवटामा उनका सुरक्षाकर्मीले प्रयोग गर्नेछन्।
राष्ट्रपति सी चढेको ‘कारकेड’लाई समानान्तर बुलेटप्रुफ गाडीद्वारा सुरक्षा दिइनेछ। सुरक्षाको जिम्मेवारी पाएको नेपाली सेनाले त्यसको समन्वय गर्नेछ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तम सुवेदीको टोलीले बाटो क्लियर गराएपछि मात्रै भिभिआइपीको सवारी हुनेछ। राष्ट्रपति सीको गाडीपछाडि नेपाली सेनाले तोकेको सहायक रथीको गाडी, त्यसपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी र सशस्त्र प्रहरीको गाडी, सवारी मन्त्रीको गाडी, सेना, प्रहरी र सशस्त्रको कमान्डो फोर्स तैनाथ भएका गाडी हुनेछन्। साथै जामर, एम्बुलेन्स पनि राष्ट्रपतिको सवारीमा सँगै परिचालन हुनेछन्।
त्यसक्रममा विमानस्थलदेखि सोल्टी होटल तथा शीतल निवाससम्म सशस्त्र प्रहरी र नेपाल प्रहरीले सडकका दायाँबायाँ सुरक्षा दिनेछन्। भिभिआइपी भेटघाटको चेकआउट नेपाली सेनाका कर्णेलको नेतृत्वमा हुनेछ। सोल्टी होटल शुक्रबार साँझबाटै नेपाली सेनाले आफ्नो निायन्त्रण लिएर सुरक्षा दिइरहेको छ। यो आइतबार बेलुकासम्म कायम रहने सुरक्षा स्रोतले जनाएको छ।
भिभिआइपी बस्ने होटल २४ घण्टा अघिबाटै सुरक्षाकर्मीले नियन्त्रणमा लिने नियमबमोजिम सेनाले नियन्त्रणमा लिएको हो। भ्रमण अवधिभर नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछन्। सुरक्षाकै लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले उपत्यकाबाहिरबाट समेत थप प्रहरी झिकाएका छन्। नागरिक पत्रीकाबाट