बागलुङमा पर्यटन क्षेत्र पुनः जुर्मुराउन थाल्याे
बागलुङ- नेपाल भ्रमण वर्ष सन् २०२० घोषणा हुँदा बागलुङका पर्यटकीय क्षेत्रको व्यापक प्रचारप्रसार भयो । जिल्लामा नेपाल भ्रमण वर्षमा हजारौँ पर्यटक भित्र्याउने लक्ष्य थियो तर कोरोना महामारीका कारण देश प्रभावित हुँदा बागलुङ पनि स्वाभाविक हिसाबले प्रभावित भयो ।
राज्यको पुनःसंरचनापछि पहिलोपटक स्थानीय तहमा आएका जनप्रतिनिधि अधिकांशको मुख्य ‘एजेण्डा’ बनेको पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै गरेको नेपाल भ्रमण वर्षमा कोरोना महामारी बाधक बन्यो । दुई वर्षको अन्तरमा कोरोनाका विभिन्न भेरियन्टले असर परेको जिल्लाको पर्यटन क्षेत्र पुनः जुर्मुराउन थालेको छ ।
बागलुङ कालिका, पञ्चकोट, शालग्राम सङ्ग्रहालय, गलकोटस्थित मूर्तिकला कार्यशाला, ढोरपाटन शिकार आरक्ष, गाँजाको दह र हाँडीकोटको टापुमा भरिभराउ पर्यटक देखिन थालेका छन् । “आन्तरिक पर्यटनका लागि गाँजाको दहमा यस वर्ष गुराँस महोत्सव नै भयो”, जैमिनी नगरपालिकाका उपप्रमुख लीला रानाले भन्नुभयोे, “कोरोना मत्थर भएपछि पर्यटन प्रवद्र्धनको सुरुआत भएको छ ।”