Connect with us
Kapilvast Forest

एक वर्षमा १ अर्ब ३६ करोड युनिट बिजुली ‘गायब’, हितेन्द्र आएपछि बढ्यो चुहावट

२०८२, २१ श्रावण मंगलवारमा प्रकाशित

काठमाडौं –

हितेन्द्र शाक्य कार्यकारी निर्देशक भएर आएपछि नेपाल विद्युत् प्राधिकरणको विद्युत् चुहावट बढेको छ । नेपाल विद्युत् प्राधिकरणको आर्थिक वर्ष २०८१/८२ को तथ्यांकले यस्तो अवस्था देखाएको हो । यो अवधिमा अधिकांश वितरण केन्द्रको चुहावट बढेको छ ।

तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा वितरण केन्द्रहरूको औसत विद्युत् चुहावट ९.५९ प्रतिशत रहेको थियो । यो तथ्यांक आर्थिक वर्ष २०८१/८२ मा १०.७६ प्रतिशत पुगेको देखिन्छ । यो १.१७ प्रतिशत विन्दुको वृद्धि हो ।

तथ्याङ्कअनुसार, बागमती प्रदेशको हेटौंडा डिभिजनल वितरण कार्यालयमा चुहावट सबैभन्दा धेरै २.४५ प्रतिशत विन्दुले बढेर ७.१९ प्रतिशतबाट बढेर ९.६४ प्रतिशत पुगेको छ। बाग्मती प्रदेश कार्यालयको चुहावट भने ५.६० प्रतिशतबाट ०.९१ प्रतिशत विन्दुले बढेर ६.५१ प्रतिशत पुगेको छ ।

त्यस्तै, कोशी प्रदेशमा चुहावट ९.८७ प्रतिशतबाट २.४० प्रतिशत विन्दुले बढेर १२.२७ प्रतिशत पुगेको छ । सुदूरपश्चिम प्रदेश चुहावट वृद्धिमा तेस्रो नम्बरमा छ । उक्त प्रदेशको विद्युत चुहावट ११.५ प्रतिशतबाट २.२४ प्रतिशत विन्दुले बढेर १३.७४ प्रतिशत पुगेको छ।

लुम्बिनी रगण्डकी कार्यालयहरूमा पनि चुहावटको दर बढेको छ, तर यो तुलनात्मक रुपमा सामान्य छ । लुम्बिनी प्रदेशको विद्युत चुहावट ७.६७ प्रतिशतबाट ०.९८ प्रतिशत विन्दुले बढेर ८.६५ प्रतिशत पुगेको छ। लुम्बिनीकै नेपालगञ्ज डिभिजनल कार्यालयको चुहावट भने १.५२ प्रतिशत विन्दुले बढेको छ । गण्डकी प्रदेशको विद्युत चुहावट ७.९६ प्रतिशतबाट ०.८४ प्रतिशत विन्दुले बढेर ८.८० प्रतिशत पुगेको छ।  जसले यो समस्या केही स्थानमा मात्र सीमित नभई देशव्यापी रूपमा बढेको देखिन्छ ।

यद्यपि, मधेश र कर्णाली प्रदेशमा चुहावटमा क्रमशः ०.१४ प्रतिशत र ०.०५ प्रतिशत विन्दुले घटेको छ। तर, यी दुवैमा अन्य प्रदेश तथा डिभिजनल कार्यालयको भन्दा चुहावट दर बढी छ ।  कर्णालीमा चुहावट अघिल्लो वर्ष २१.७९ प्रतिशत रहेकोमा यो वर्ष घटेर २१.७४ प्रतिशतमा झरेको देखिन्छ । मधेशमा गत वर्षको १५.२९ प्रतिशतको चुहावट घटेर १५.१५ प्रतिशत कायम भएको छ ।

526728951_1439773510672009_6200020007592189501_n

कति छ विद्युत् चुहावट ?

यो अवधिमा विद्युत् प्राधिकरणले १२ अर्ब ६४ करोड ७८ लाख युनिट बराबरको विद्युत प्राप्ति गरेको थियो । त्यसमध्ये ११ अर्ब २८ करोड ६४ लाख युनिट मात्रै बिजुली बिक्री भएको छ । यो १ अर्ब ३६ करोड १४ लाख युनिट बराबरको चुहावट हो ।

त्यसमध्ये कोशीमा २ अर्ब २० करोड ३७ लाखमध्ये २७ करोड ३ लाख युनिट, मधेशमा २ अर्ब ८२ करोडमध्ये ४२ करोड ८४ लाख युनिट, बाग्मतीमा १ अर्ब ७२ करोडमध्इे १७ करोड ७५ लाख युनिट, हेटौंडा डिभिजनमा ८२ करोड ९२ लाखमध्ये ७ करोड ९९ लाख युनिट चुहावट भएको छ ।

गण्डकीमा ८१ करोड ७ लाखमध्ये ७ करोड १३ लाख युनिट, लुम्बिनीमा १ अर्ब ८१ करोड ९१ लाखमध्ये १५ करोड ७४ लाख युनिट, नेपालगञ्ज डिभिजनमा ८२ करोड २८ लाखमध्ये ८ करोड ३२ लाख युनिट, कर्णालीमा १२ करोड ९ लाखमध्ये १ करोड ६३ लाख युनिट तथा सुदुरपश्चिममा ४८ करोड ८० लाखमध्ये ७ करोड ७० लाख युनिट विद्युत् चुहावट भएको छ । बाँकी रहेको विद्युत मात्रै बिक्री भएको तथ्यांक देखिन्छ ।

नेपाल विद्युत् प्राधिकरणमा विद्युत् चुहावटमध्ये केही प्राविधिक चुहावट र गैरप्राविधिक चुहावट हुन्छन् । प्राविधिक चुहावट अन्तर्गत उत्पादन, प्रसारण र वितरणसम्बन्धी चुहावट पर्छन् । गैरप्राविधिक चुहावट अन्तर्गत विद्युत चोरी, मिटरिङमा समस्या, बिलिङ तथा संकलनमा समस्या तथा तथ्यांक व्यवस्थापनसम्बन्धी समस्या पर्छन् ।

यो चुहावट वर्षभरीको हो । तर, नेपाल विद्युत् प्राधिकरणमा हितेन्द्र शाक्य नियुक्त भएर आएपछिको रिपोर्टले यस्तो अवस्था देखाएको हो । त्यसअघि र त्यसभन्दा पछि कुन दरमा चुहावट भयो भन्ने विवरण उपलब्ध भएको देखिँदैन ।

यद्यपि प्राधिकरणका प्रवक्ता भने राजन ढकाल भने यो तथ्यांक आधिकारिक नभएको दाबी गर्छन् । विभिन्न कार्यालयहरुबाट तथ्यांक प्राप्त हुने र त्यसको रिकन्सिलेसन गर्ने क्रममै रहेकोले आधिकारिक तथ्यांक केही दिनभित्र सार्वजनिक हुने उनको भनाइ छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu