Connect with us
Kapilvast Forest

सात प्रदेशलाई सातवटा जहाज किन्ने सरकारको तयारी

२०८२, ८ भाद्र आईतवारमा प्रकाशित

काठमाँडौ –

सरकारले सात प्रदेशमा सञ्चालन गर्ने उद्देश्यले सातवटा ट्विनअटर विमान खरिद गर्ने तयारी गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाली तथा पहाडी जिल्लामा उडान गर्ने ट्विनअटर जहाजको अभावले नियमित हवाई सेवामा समस्या भइरहेको बताए । सोही समस्या समाधान गर्न हाल मन्त्रालयले सातै प्रदेशका लागि सातवटा ट्विनअटर जहाज खरिद गर्ने प्रस्ताव अघि बढाएको उनले जानकारी दिए । यसका लागि विषयगत समितिमा प्रस्ताव अघि सारेको समेत उनले बताए । पारदर्शी मोडेलमार्फत नयाँ विमान खरिद गरी निजी क्षेत्रसँगको सहकार्यमा सेवा विस्तार गर्ने उनको भनाइ छ । उनले भने, ‘नेपाल एयरलाइन्सका दुईवटा ट्विनअटर जहाजका आधारमा मात्र समस्या समाधान हुँदैन । दीर्घकालीन सोचका साथ नयाँ विमान थप्नैपर्छ ।’

मन्त्री पाण्डेले मुलुकभर ५३ वटा विमानस्थल रहे पनि अहिले सीमित संख्यामा मात्रै जहाज सञ्चालन भइरहेको तथ्य औँल्याए । उनले भने, ‘हाम्रो देशमा ५३ वटा विमानस्थल छन्, तर ट्विनअटर विमानको संख्या घट्दै गएको छ । यसरी विमान घट्दै गएमा दुर्गम क्षेत्रका नागरिकको जीवन झनै कठिन हुन्छ । हुम्ला र लुक्लाबाहेक अरू धेरै विमानस्थल प्राय: निष्क्रिय बनेका छन् ।’

कर्णालीका दुगर्म क्षेत्रमा हवाई उडानलाई नियमित बनाउने पहलकदमी लिएर संघीय राजधानी काठमाडौंको सिंहदरबार आएका प्रदेश मुख्यमन्त्री यमलाल कँडेल नेतृत्वको टोलीले संघीय पर्यटनमन्त्री र विमान कम्पनी सञ्चालकसँग छलफल गरेका थिए । शुक्रबार सुर्खेत विमानस्थलबाट कर्णालीका विभिन्न जिल्लामा हवाई उडान सञ्चालन गर्ने सम्बन्धमा आयोजित बृहत् छलफल कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले जहाज अपुग भएको जवाफ दिएका थिए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल नेतृत्वको टोलीले सुर्खेतलाई आधार बनाएर सञ्चालन हुने हवाई उडान नियमित बनाउन संघीय सरकारको ध्यानाकर्षण गराएको थियो । छलफलमा मुख्यमन्त्री कँडेल, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, प्रदेश मन्त्रीहरूका साथै सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो । छलफलका क्रममा सहभागीले कर्णाली प्रदेशका पहाडी जिल्लामा भर्खरै मात्र सडक सञ्जाल पुगेको र भौगोलिक कठिनाइका कारण हवाई सेवा अपरिहार्य रहेको धारणा राखेका थिए । मुख्यमन्त्री कँडेलले प्रदेश सरकार हातेमालो गर्न तयार रहेको भन्दै स्पष्ट कार्ययोजना बनाउन आग्रहसमेत गरेका थिए । उनले अनुमति लिँदाको समयमा गरिएको प्रतिबद्धता पालना गर्नुपर्नेमा जोड दिँदै सुर्खेत विमानस्थललाई ‘ट्विनअटर हब’का रूपमा विकास गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए ।

ट्विनअटर जहाज सञ्चाल गर्ने सीता एयरलाइन्सका प्रतिनिधिले यात्रु अभावकै कारण नियमित उडानमा कठिनाइ भएको बताए । एक प्रतिनिधिले सुर्खेतलाई आधार बनाएर केही उडान गरिरहेको जानकारी दिँदै जुम्ला, सिमिकोटलगायत क्षेत्रमा यात्रु भेटिए मात्र उडान गर्नुपर्ने बाध्यता रहेको बताए । राज्यले विशेष सहुलियत दिनुपर्ने माग पनि ती प्रतिनिधिको थियो ।

नागरिक उड्डयन प्राधिकरणले दियो विकल्प
पर्यटनमन्त्री र विमान सञ्चालकले असमर्थता देखाए पनि नागरिक उड्डयन प्राधिकरणले भने विकल्पसहित सम्भावना देखाएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सुर्खेत विमानस्थललाई प्रादेशिक हबका रूपमा विकास गर्ने सम्भावना रहेको बताए । उनका अनुसार नेपाल एयरलाइन्ससँग सहकार्य गर्दै अन्य निजी कम्पनीलाई समेत सामेल गरेर सुर्खेतबाट विभिन्न दुर्गम जिल्लामा नियमित उडान गर्न सकिनेछ । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले ट्विनअटर जहाजको कमीका कारण दुर्गम जिल्लामा सेवा विस्तार गर्न नसकिएको भन्दै प्राधिकरणको विकल्प नै ओझेलमा पारे । उनले भने, ‘सम्बन्धित निकायसँग प्राविधिक छलफल गरेर मात्र सुर्खेतलाई आधार बनाएर उडान सञ्चालन गर्न सकिन्छ वा सकिँदैन भन्ने टुंगोमा पुग्नेछौँ ।’

साभार नयाँपत्रिका

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu