काठमाडौँ-
उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको जेनजी पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई समर्थन गरेका छन्।सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले सरकारले सामाजिक सञ्जाल बन्द गर्न गरेको निर्णयको विरोध गरेका छन्। उनले उक्त निर्णयको विरोधमा जेनजी पुस्ताले निकाल्ने जुलुसमा उज्यालो नेपाल अभियानको ऐक्यबद्धता रहेको पनि जनाए।
हालै खाडी मुलुक, युरोप र अमेरिकाको भ्रमण गरेर नेपाल फर्किएका कुलमानले नेपालमा बत्तीको उज्यालो मात्रै नभई सबै क्षेत्रमा सुशासन र समृद्धिको उज्यालो ल्याउन उज्यालो नेपाल अभियान सुरु गरिएको बताएका थिए।उनले लाखौं युवा विदेश पठाएर देशले उन्नति नगर्ने भन्दै स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए। उनले देशमा निराशा व्याप्त रहेकोमा अब स्वदेशमै केही गर्न सकिन्छ भन्ने आशा जगाउन पनि उज्यालो नेपाल अभियान सुरु गरिएको जनाएका थिए।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रूरुपमा कार्यकाल पूरा हुन चार महिना मात्रै बाँकी रहँदा पदबाट बर्खास्त गरिएपछि विदेश भ्रमणमा निस्किएका कुलमानलाई प्रवासी नेपालीका संघसंस्थाहरूले नागरिक अभिनन्दन तथा सम्मान गर्दै नेपालको रूपान्तरणमा अघि बढ्न आग्रह गरेका थिए।
यसैबीच काठमाडौँ महानगरका मेयर बालेन साहले २८ वर्षभन्दा कम उमेरका जेनजी पुस्ताका युवाले आह्वान गरेको आन्दोलनमा आफ्नो समर्थन रहेको बताएका छन्। विभिन्न संघसंस्था तथा दलहरूले पनि उक्त आन्दोलनप्रति समर्थन जनाएका छन्।