Connect with us
Kapilvast Forest

विदेशबाट श्रीमान्ले आलोचना गरेको निहुँमा एमालेबाट निवार्चित वडाध्यक्षले दिएनन् सिफारिस

२०८२, १६ असार सोमबारमा प्रकाशित

काठमाडौं-

वैदेशिक रोजगारीमा रहेका व्यक्तिले आफ्नो आलोचना गरेको निहुँमा खोटाङको ऐँसेलुखर्क गाउँपालिका– २ का वडाध्यक्ष नन्दकुमार तामाङले उनकी श्रीमतीको सिफारिस नै रोकिदिएका छन् । सेवाग्राही रिता दर्जीले ‘रिता बाख्रा फार्म’को नाम परिवर्तन गरेर ‘रिता कृषि तथा पशुपालन फार्म’ बनाउन आवश्यक वडाको सिफारिस माग गर्दा वडाध्यक्ष तामाङले हस्ताक्षर नगरिदिएका हुन् ।

घरेलु तथा साना उद्योग कार्यालय खोटाङमा रिता दर्जीको नाममा रिता बाख्रा फार्म दर्ता छ । बाख्रा बेचेर हाल बंगुरपालन र अकबरे खुर्सानी खेती गर्दै आएकी उनी फार्मको नाम परिवर्तन गर्न वडासचिवमार्फत सिफारिस तयार गरेर हस्ताक्षर गर्न ६ असारमा वडाध्यक्षकहाँ गएकी थिइन् । तर, वडाध्यक्षले अपमानजनक शब्द प्रयोग गर्दै फर्काइदिएको रिताले गुनासो गरिन् ।

रिताका श्रीमान्ले मलाई सामाजिक सञ्जालमा गालीगलौज गरेका छन् । म जनताबाट निर्वाचित जनप्रतिनिधि हुँ । मलाई अपमान गरेपछि उनीहरूलाई नैतिक कारबाहीस्वरूप सिफारिस नदिएको हुँ । यस विषयमा अहिलेलाई यति बुझ्नुस् ।

वडासचिव धनकुमार खत्रीले सिफारिस तयार गरिदिए पनि वडाध्यक्ष तामाङले हस्ताक्षर गर्न नमानेपछि फार्मको नाम परिवर्तन गर्न नसकेको रिताले बताइन् । ‘श्रीमान् विदेशमा हुनुहुन्छ, उहाँले कमाएको अलिअलि पैसा थपेर बंगुर पालन र अकबरे खुर्सानी खेती गरेको छु । तर, सरकारबाटै अन्याय भएको छ,’ उनले भनिन्, ‘वडाध्यक्षले मलाई उल्टै गालीगलौज गरे, दलित भनेर हेपे ।’

वडाध्यक्ष तामाङले भने विदेशमा रहेका रिताका श्रीमान् महेन्द्र दर्जीले सामाजिक सञ्जालबाट आफूलाई गालीगलौज गरेकाले नैतिक कारबाहीस्वरूप सिफारिसमा हस्ताक्षर नगरेको प्रतिक्रिया दिए । उनले नयाँ पत्रिकालाई टेलिफोमा भने, ‘रिताका श्रीमान्ले मलाई सामाजिक सञ्जालमा गालीगलौज गरेका छन् । म जनताबाट निर्वाचित जनप्रतिनिधि हो । मलाई अपमान गरेपछि उनीहरूलाई नैतिक कारबाहीस्वरूप सिफारिस नदिएको हो ।’

गाउँमै व्यावसायिक कृषि गर्ने उद्देश्यले उनले ६ रोपनीमा अकबरे खुर्सानी मात्रै लगाएकी छिन् । उक्त खुर्सानी बिक्री गरेर दुई छोराछोरीसहित वृद्धावस्थाका सासू–ससुराको जीविका धान्दै आएकी छिन् । रिताले दुई वर्षअघि आधिकारिक रूपमा फार्म दर्ता गरेर बाख्रा पालन गर्दै आएकी थिइन् । तर, चरिचरनमा समस्या भएपछि बाख्रा बिक्री गरेर बंगुर पाल्न सुरु गरेको बताइन् ।

वडाध्यक्ष तामाङले राजनीतिक प्रतिशोधका आधारमा अन्य सेवाग्राहीलाई समेत विभेद गर्ने गरेको रिताको आरोप छ । तामाङ ०७९ मा स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । सोही निर्वाचनमा रिता कांग्रेसबाट दलित महिला सदस्यमा पराजित उम्मेदवार हुन् ।

साभार : नयाँपत्रिका

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu