कपिलवस्तुमा ३ वर्षमा ७१ जना पुरुषले दिए श्रीमतीविरुद्ध उजुरी
कपिलवस्तु-
घरेलु हिंसा जोडतोडले उठी रहेको बेला कपिलवस्तुमा भने पुरुष हिंसा समेत बढ्दै गएको छ । घरेलु हिंसामा केवल महिला मात्र नभै पुरुष समेत पर्ने गरेको तथ्य बाहिर आउने थालेपछि पुरुष हिंसा बढेको पाइएको हो । श्रीमान् विरुद्ध श्रीमतीले उजुरी दिनेलाई सामान्य नै मानिन्छ । पुरुषले महिलालाई कुटपिट गरेको खान लाउन नदिएको घरमा बस्न नदिएको भन्दै प्रहरीमा अत्यधिक उजुरी पर्ने गर्छन् ।
प्रहरीले आर्थिक वर्ष २०७१र०७२ देखि पुरुष हिंसालाई समेत रेकर्डमा राख्न थाले पछि यस्तो तथ्य बाहिर आएको हो । जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र अनुसार विगत ३ वर्षमा ७१ जना पुरुषले आफनै श्रीमती विरुद्ध उजुरी हालेका थिए । गत आर्थिक वर्ष २०७१र०७२ मा २३ जना पुरुषले आफ्नो श्रीमती विरुद्ध उजुरी दिएका थिए । यस्तै आर्थिक बर्ष २०८०र०८१ मा १९ र ०७९र८० मा जिल्लामा २९ वटा उजुरी परेका थिए। आर्थिक वर्ष २०८१र०८२ मा २३ उजुरी परेको थियो । अधिकांश पुरुषले मईति गएर नफर्केको भन्दै उजुरी दिने गरेका छन् । महिलाले नै मादक पदार्थ सेवन गरी झगडा गरेको, पुरुषलाई खान लाउन नदिएको, सुत्न नदिएको लगायतका पर्ने गरेका छन् ।
श्रीमती पर पुरुषसँग सम्बन्ध राखेको, यातना दिने गरेको, फेस बुकमा अनावश्यक मान्छेसँग कुराकानी गरी हैरानी पारेको बिरामी पर्दा पत्नीले कुनै वास्ता नगरेको, वैदेशिक रोजगारीमा रहेको बेला श्रीमतीले सबै पैसा उडाएको लगायतका ठाडो उजुरी केही बर्ष यता प्रहरीमा पर्ने गरेका छन् । आर्थिक बर्ष २०७०र०७१ देखि पुरुष हिंसाको रेकर्ड समेत राख्न थालेको हो । त्यस यता वर्षको १० देखि १५ वटा मात्र पुरुष हिंसा सम्बन्धी उजुरी पर्ने गरेकोमा विगत ३ वर्षमा ७१ उजुरी दर्ता भएको थियो ।
श्रीमतीबाट पीडित भएको कुरा समाजमा गर्दा अपहेलित हुने डरले चुपचाप हिंसा सहेर बस्ने पुरुषहरूले अहिले उजुरी दिन थालेका हुन । पहिले गाउँघरमै गुपचुपमा मिलाइने महिला पीडित पुरुष हिंसाका उजुरी गर्न पुरुषहरू आफै प्रहरी कहाँ पुग्ने गरेका छन् । उनीहरूले आफू महिलाबाट पीडित भएको भन्दै न्याय पाउने आशाले जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलमा उजुरी दर्ता गर्ने गरेका छन् । यसअघि उजुरी गर्न पुरुषहरू प्रहरीकोमा खासै आउने गरेका थिएनन् । त्यस कारण प्रहरीकोमा रेकर्ड पनि राख्ने चलन थिएन ।
महिलाहरू जस्तै पुरुष पनि उजुरी गर्न आएपछि आरोपित महिलालाई बोलाएर छलफल गराउने गरेको प्रहरी नायब उपरीक्षक रितेन्द्र कुमार सिंहले बताए। ‘ समय परिस्थिति अवस्था फेरिँदै जाँदा नयाँ समस्या आएको भन्दै दुबै पक्षलाई मिलाएर पठाउने गरिएको छ, ’ उनले भने ‘–धेरै पुरुष वास्तविक रूपमा पीडित भेटिएका छन्। दुबै पक्ष राखेर छलफल गर्दा समस्या पत्ता लाग्छ, त्यसपछि कसरी समाधान गर्ने भनेर निक्र्यौल निकाल्छौँ। हिंसा प्रभावित धेरै पुरुषका समस्या समाधान भएका छन् । पुरुषहरूले आफ्नो श्रीमती माइत गए पछि नफर्केको, लिन जाँदा झैझगडा गरेको, वैदेशिक रोजगार गएको बेला पठाएको पैसा हिनामिना गरेको भन्ने धेरै उजुरी पर्ने गरेका छन् ।
खास गरी उजुरीमा खान लाउन नदिएको, कुटपिट गर्दै दुर्व्यवहार गरेको र घरमा काम नगरेर दुःख दिएको भन्दै पुरुष उजुरी गर्न आउने गरेका छन् । त्यस्तै घरमा नबस्ने, घर व्यवहार नगर्ने, यातना दिने, विलासी रहनसहन, मंहगो लत्ताकपडा र गरगहना मागेर निहुँ खोजेर दुःख दिने गरेको उजुरी गर्न आउने बढेका छन् ।
‘ सबैलाई सम्झाई बुझाई पठायौ ’ सिंहले भने, ‘ त्यसपछि फेरी समस्या भयो भन्दै पुरुषहरू आएका छैनन्। नमिलेका उजुरी भने अदालत पठाइने गरिएको उनले बताए । प्रहरीले घरेलु हिंसा प्रभावित महिलालाई विशेष महत्व दिई काम गर्दै आएका थियौँ प्रहरी उपरीक्षक निरंजनद दत्त भट्ट भने ‘अब हिंसा पीडित पुरुषका लागि प्राथमिकतामा राख्न थालेका छौ।’
घर बिग्रियो भने परिवार बिग्रने हुँदा समाज बसालेर छलफल गर्छौँ नभए मात्र अदालत सम्म पठाउने गरेको उनले बताए । प्रहरीले पुरुष हिंसालाई अन्य हिंसाका रूपमा रेकर्डमा राखेर अनुसन्धान तहकिकात गर्ने गरेको छ । बुद्धभुमी नगरपालिकाकी उप मेयर मीरा कुमारी थारुले महिला वा पुरुष जो कोही पनि हिंसा पीडित हुन सक्ने बताईन । उनले हिंसामा संलग्नलाई आवश्यकता अनुसार कारबाही गर्नु पर्ने बताईन ।