शिवराजको तीज मिलन कार्यक्रममा बजेट दुरुपयोग भएको आरोप
न्युज सेन्टर नेपाल, कपिलवस्तु, —
हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा शिवराज नगरपालिकाले भदौ ४ गते आयोजना गरेको तीज मिलन कार्यक्रममा बजेट दुरुपयोग भएको भन्दै व्यापक आलोचना भएको छ । कार्यक्रममा सहभागी हुन धेरै आमा, दिदीबहिनीहरू वञ्चित भएको गुनासो सार्वजनिक भइरहेका बेला, खर्चको शैलीप्रति पनि प्रश्न उठेका छन ।
नगरपालिकाले उक्त कार्यक्रममा करिब दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर स्थानीय महिलाहरूको भनाइमा सो रकमलाई समावेशी कार्यक्रमका सट्टा भोजभतेरमा मात्र प्रयोग गरिएको छ । उनीहरूले जनताबाट उठाइएको करको पैसा एक निश्चित समूहलाई लक्षित गरी मनोरञ्जनमा खर्च गर्नु असंगत भएको बताएका छन् ।
यस घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शिवराजले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै सार्वजनिक स्रोतको दुरुपयोग भएको उल्लेख गरेको छ ।
पार्टीले नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने सामाजिक तथा विकास गतिविधिमा प्रयोग गर्नुपर्नेमा जोड दिएको छ ।
कपिलवस्तुका धेरै नागरिकहरू अझै पनि बिहान–साँझको छाक जुटाउन संघर्षरत रहेको बेला, नगरपालिका स्तरमा यस्ता भोजभतेरमा बजेट खर्च हुनु एकदमै अस्वीकार्य भएको उनीहरूको तर्क छ ।
स्थानीय दिदीबहिनीहरूले आफ्नो सहभागिता सुनिश्चित नगरी एकतर्फी रूपमा कार्यक्रम सञ्चालन गर्नु नै अन्यायपूर्ण भएको भन्दै आवाज उठाएका छन् ।
विभिन्न पक्षले अब नगरपालिका गतिविधिमा पारदर्शिता र उत्तरदायित्वको सुनिश्चितता गर्नुपर्ने माग गरेका छन् । सार्वजनिक निधि नागरिकको जीवनस्तर सुधार, आधारभूत सेवा विस्तार र सामाजिक हितमा खर्च गर्नुपर्नेमा स्थानीयवासीको जोड छ ।