राजनीतिक विवादमा दुधाधारी माविका प्रअ सुग्रीम
न्युजसेन्टर नेपाल, कपिलवस्तु-
कपिलवस्तुको विजयनगर गाउँपालिका स्थित दुधाधारी नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक सुग्रीम कोरी पछिल्ला दिनहरूमा राजनीतिक संलग्नताको विषयमा विवादमा तानिएका छन् ।
कोरीले आफूले चार वर्षअघि नै नेकपा (एमाले) परित्याग गरेको दाबी गर्दै आएका छन् । तर, हालैको मितिमा सार्वजनिक भएको एक तस्बिरमा उहाँलाई एमालेको पार्टी कार्यक्रममा मञ्चमा बोल्दै गरेको अवस्थामा देखिएको छ । उक्त तस्बिर सार्वजनिक भएपछि उहाँको राजनीतिक तटस्थता र शिक्षक आचरणबारे प्रश्न उठ्न थालेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार शिक्षकले कुनै पनि राजनीतिक दलको सदस्यता लिन वा दलगत क्रियाकलापमा प्रत्यक्ष संलग्न हुन नपाउने व्यवस्था छ । यसबीच, कोरीले चार वर्षअघि पार्टी छोडेको बताएका भए पनि हालैको उपस्थितिले त्यो दाबीमाथि शंका उत्पन्न गरेको छ ।
यस विषयमा प्रअ कोरीले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै भने, “मैले एमाले चार वर्षअघि छोडिसकेको हुँ, सो कार्यक्रममा म अतिथि रूपमा उपस्थित मात्र भएको हुँ,” भन्ने स्पष्टीकरण दिएका छन् ।
तर, स्रोतका अनुसार सो कार्यक्रम एमालेको संगठन विस्तार अभियानअन्तर्गत सञ्चालन गरिएको थियो । स्थानीय अभिभावक तथा शिक्षकबीच पनि यस घटनाले चर्को चर्चा पाएको छ ।
विजयनगर गाउँपालिकाका शिक्षा शाखाले यस विषयमा थप जानकारी लिँदै नियम विपरीत राजनीतिक संलग्नता पुष्टि भए कारबाही गर्न सकिने जनाएको छ ।
यो पनि पढनुस