कपिलवस्तुमा प्रतिबन्धित भारतीय बोइलरको तस्करी, प्रशासन मौन
न्युज सेन्टर नेपाल-
कपिलवस्तु, – नेपालमा पूर्ण रूपमा प्रतिबन्धित भारतीय बोइलर कुखुराको तस्करी खुलेआम भइरहेकाले स्वास्थ्य संकटको गम्भीर खतरा बढेको छ । कपिलवस्तुको विजयनगर, कृष्णनगर, कोटिया हर्दौना, खुनुवा, रङपुर, चकरचौडा मात्र होइन, कुशहवा बढ्नी, भिल्मी, ठकुरापुर र बेदर्मी नाकाबाट समेत दैनिक रूपमा कुखुरा भित्र्याई कपिलवस्तुका बजारमा छ्यापछ्याप्ती पुर्याइने गरिएको छ ।
दशैंको अवसरलाई लक्षित गर्दै मासुको माग उच्च हुने बहानामा तस्करी झनै मौलाएको छ । स्थानीय उपभोक्ता भक्तीबहादुर थापाले यसलाई “जनस्वास्थ्यसँग गरिएको जघन्य खेलवाड” भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
१५ वर्षअघि बर्डफ्लु संक्रमण भित्रने उच्च जोखिमका कारण नेपाल सरकारले भारतीय कुखुरा, चल्ला र अण्डा आयातमा पूर्ण प्रतिबन्ध लगाएको भए पनि तस्करी नेटवर्क सक्रिय बनेको छ ।
स्थानीय स्रोतका अनुसार विजयनगर नाकाबाट तस्कर समूहले रातारात ट्रकभरि कुखुरा भित्र्याउने गरेको छ । भारतको पचपेडवाका व्यापारी नसिम मुसलमानले समेत ‘जेनजी आन्दोलन’को मौका छोपेर तस्करी बढाएको पुष्टि गरेका छन् ।
हथिहवा दोहनी नाकाबाट व्यापारी रफिक, आमिर र मनौवरले भारतीय कुखुरा भित्र्याई लुम्बिनी, चार नम्बर र बुटवलसम्म पु¥याउने गरेका छन् ।
उनीहरूले नक्कली बिल, नक्कली दानाको रसिद र दुई महिना पुरानो चल्ला खरिदको कागज प्रयोग गरी भारतीय कुखुरालाई नेपाली उत्पादनका रूपमा देखाइ बिक्री गर्ने गरेको आरोप छ । यस कार्यमा भेटनरी डाक्टर तथा दाना व्यापारीसम्मको मिलेमतो रहेको तथ्य बाहिर आएको छ ।
विजयनगर–५ का गोरे थापाका अनुसार भारतीय तस्करले सिमानामा गाडी–गाडीभरि कुखुरा जम्मा गर्ने र नेपालतर्फका तस्करले नेपाली बिल बनाएर बजारमा पुर्याउने नियोजित कार्य भइरहेको छ ।
तर, यस्ता गैरकानुनी गतिविधिमा प्रशासन मौन देखिएकोप्रति स्थानीयवासीले गम्भीर प्रश्न उठाएका छन् ।
स्थानीयहरूले स्वास्थ्यका लागि हानिकारक कुखुरा तस्करीमा संलग्न गिरोहलाई तत्काल नियन्त्रणमा लिन र कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।