शिक्षिकाद्वारा छात्रामाथि कुटपिट, पिठ्युँमा नीलडाम- हेर्नुस् भिडियो
कृष्ण पौडेल, कपिलवस्तु–
बुद्धभूमि नगरपालिका–९ इमिलियास्थित माध्यमिक विद्यालयमा अध्ययनरत ६ वर्षीया छात्रामाथि शिक्षिकाले कुटपिट गरेको घटनाले विद्यालय क्षेत्र स्तब्ध बनेको छ । गृहकार्य नगरेको भन्दै युकेजीमा अध्ययनरत छात्रा सलिना बेल्बासेलाई शिक्षिका अन्जु पौडेलले कक्षा कक्षमै कुटपिट गरेको अभिभावकले आरोप लगाएका छन् ।
बालिकाकी आमा सरिता बेल्बासेका अनुसार शिक्षिकाले छोरीलाई यति कडा रुपमा पिटिन् कि पिठ्युँमा नीलडाम बसेको र सुन्निएको छ । उनले भनिन्, “आजै छोरीको टाउकोमा घोपिएको पेन्सिलको टुडो निकालेँ । यसअघि पनि यस्तो पिटाइबारे सुनेकी थिएँ, तर सामान्य ठानेकी थिएँ । आज त बसबाट झर्दा झोला बोक्न पनि नसक्ने अवस्था भयो ।”
आमाले रुँदै भनिन्, “मेमले पिट्दा शरीरभरि दुखिरहेको छ भनेर छोरी रोइरहेकी छे ।”
उनले विद्यालयका प्रधानाध्यापक दिनेश खनाललाई घटनाबारे जानकारी गराउँदा समेत बेवास्ता गरेको आरोप लगाइन् । “फोनसमेत नउठाउने, जिम्मेवारी नलिने प्रधानाध्यापक हुँदा बच्चा कसरी सुरक्षित हुन्छन्?” भन्दै उनले प्रश्न उठाइन् ।
बालिकाको उपचारका लागि परिवारले उनलाई शिवराज नगरपालिका–३ खरेन्द्रपुरस्थित छायाँ पोलिक्लिनिक अस्पताल लगिएको छ, जहाँ एक्स-रे तथा उपचारपछि मांसपेशीमा चोट लागेको पुष्टि भएको छ ।
आमाको भनाइअनुसार विद्यालय प्रशासनलाई घटनाबारे जानकारी गराइएको छ र दोषी शिक्षिकामाथि कडा कारबाहीको माग गरिएको छ ।
घटनापछि स्थानीय अभिभावकहरू आक्रोशित बनेका छन् । उनीहरूले यस्तो घटना शिक्षाको वातावरणमा धक्का पु-याउने र बाल अधिकारको गम्भीर उल्लङ्घन भएको बताएका छन् ।
विद्यालय प्रशासनले भने घटनाबारे अध्ययन भईरहेको र आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ ।